धौलीगंगा बाँध खोलिदै, नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

१ बर्ष अघि

२0८0 असार २४ आईतवार

धौलीगंगा बाँध खोलिदै, नदी किनारका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध मंगलबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई आज पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २६ गते मंगलबार बिहान ५ बजे देखी बेलुकी ८ बजे सम्म खोलिने जनाएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केहि घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाईका लागि बाँध खोलिन लागिएको हो ।


बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदि आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ । दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो । धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गर्दछ ।