पञ्चेश्वरको काम अगाडि बढ्ने संकेत, भारत सकारात्मक देखियो

१ बर्ष अघि

२0८0 असार २४ आईतवार

पञ्चेश्वरको काम अगाडि बढ्ने संकेत, भारत सकारात्मक देखियो

महेन्द्रनगर । पोखरामा बिहीबार सुरु भएको पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी) को आठौं बैठकमा तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)लाई अन्तिम रुप दिने सहमति भएको छ ।

बैठकमा भएको तीन बुँदे सहमतिले तीन दशकभन्दा लामो समयसम्म चर्चामा मात्रै सिमित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको काम अगाडि बढाउन भारत इच्छुक देखिएको संकेत गरेको छ ।

शुक्रबार सम्पन्न बैठकका क्रममा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

गत महिना प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला तीन महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर टुंगो लगाउने सहमति भएको थियो । दुई देशका प्रधानमन्त्रीबीचको सो सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न बैठकले तीन बुँदे सहमति गरेको हो ।

बैठकका क्रममा डिपिआर बनाउन र त्यसकोे कार्यान्वयनमा सहयोग गर्न दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह (टिम अफ एक्सपर्ट्स÷अफिसियल) को म्याद ६ महिना थप गर्ने सहमति पनि भएको छ ।

दुबै देशका कार्यकारी समितिका सदस्यलाई प्राधिकरणको प्रमुख कार्यालय महेन्द्रनगरमा एक महिनाभित्र पठाउने सहमति पनि भएको छ ।