पुटिन, सी र मोदीबीचको भर्चुअल वार्तामा के भयो कुराकानी ?

१ बर्ष अघि

२0८0 असार २२ शुक्रबार

पुटिन, सी र मोदीबीचको भर्चुअल वार्तामा के भयो कुराकानी ?

सांघाई कर्पोरेशन अर्गनाइजेसन अन्तर्गतको कार्यक्रममा चिनिँया राष्ट्रपति सी जिनपिङ, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल वार्ता गरेका छन् ।
 

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहको बिद्रोहपछिको परिस्थितिबारे जानकारी गराउँदै युक्रेनको युद्धमा सहयोगको अपिल गरे । चीनमा राष्ट्रपति सी जिनपिङले हालै अमेरिका भ्रमण गरेका भारतीय प्रधानमन्त्री मोदी र भ्लादिमिर पुटिनसँग स्क्रिन सेयर गरेर अमेरिकाको शक्तिको राजनीति र आधिपत्य अन्त्यको दिन निकट रहेको सन्देश दिए । उता भारतीय प्रधानमन्त्री मोदीले भारत उदाउँदो शक्ति रहेको भन्दै आतंकवादविरुद्ध लड्नका लागि सहयोगको आह्वान गरे ।

सांघाई कर्पोरेशनको वार्षिक बैठकमा उपस्थित ती राष्ट्रका प्रमुखले कर्पोरेशनमा आउने परिवर्तनबारे कुनै सन्देश दिएनन् । सन् २००१ मा चीन र रूस मिलेर पाकिस्तान र मध्य एशियाका काजगस्तान, क्रिगिस्तान, ताजिकिस्तान र उज्बेकस्तानलाई समेत समेटेर कर्पोरेशन बनाइएको थियो ।  पश्चिमी प्रभावलाई चुनौती दिन गठन गरेको संस्थाको यस बैठकमा प्राथामिकतामा प्रतिस्पर्धात्मक स्थितिको छनक थियो ।

त्यहाँ चीन र भारतबीचको विवादका कुरा उठेन । चीन र भारत दुबैले पुटिनलाई सहयोग पुग्नेगरी कुनै वक्तव्यबाजी गरेनन् । समग्रमा उनीहरूको वार्ता आ-आफ्नो घरेलु विषयमा केन्द्रित भयो । ‘यी मुलुकमा समस्या छन् तर सबैकुरा सामान्यझैँ गरी उनीहरू प्रस्तुत भएका छन् । सांघाई कर्पोरेशन आवद्ध मुलुकमा कुनै पनि मतभिन्नता नरहेको सन्देश उनीहरूले दिन खोजे । रूसमा आन्तरिक समस्या भएपनि वा भारतले अमेरिकासँगको सम्बन्ध विस्तार गर्न खोजे पनि कर्पोरेशनमा आवद्ध मुलुकमा सबै सामान्य रहेकोझैँ गरी उनीहरूले संवाद गरे’, नेशनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक आयान चोङ भन्छन् ।


कर्पोरेशनमा पुटिनबाहेक अन्य दुई नेतालाई आफ्नो छवि बचाउनुपर्ने आवश्यकता थिएन । हालसालै क्रेमलिन नै हल्लिने गरी वागनर समूहले गरेको विद्रोहका कारण पुटिन दबाब र तनाव दुबैमा थिए । पुटिनले वागनर समुहका कमाण्डर यगभिनी  प्रिगोजिनलाई बेलारूस जान अनुमति दिएसँगै तत्कालका लागि रूसमा संकट टरेको छ । तर भविष्यमा के होला भन्ने संशय अझैपनि जीवितै छ ।

वागनर समूहको विद्रोहपछि अन्तर्राष्ट्रिय मञ्चमा पहिलोपटक बोलेका पुटिनले युक्रेन युद्ध र अन्य मामिलामा कर्पोरेशनका सदस्यले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । ‘मातृभूमिको रक्षाका लागि राजनीतिक तथा सामाजिक वृत्त एकजुट भएर सशस्त्र हमलालाई असफल बनायौँ,’ उनले भने ।

युक्रेनमा युद्धका लागि कर्पोरेशनमा रहेका मुलुकबाट आफूले थप सहयोग पाउने अपेक्षा पुटिनले राखेका छन् । यस मामिलामा पुटिनलाई सबैभन्दा धेरै सहयोग चीनले गरेको छ । चीनले कुटनीतिक र आर्थिक दुबै तरिकाले रूसलाई सहयोग गरेको छ । अमेरिकालाई चुनौती दिनका लागि पुटिन आवश्यकता रहेको ठानेर चीनले सहयोग जारी राखेको विज्ञहरू बताउँछन् ।

भर्चुअल वार्तालाई सीले अमेरिकी प्रभावलाई कम गर्ने उत्तम मौकाका रुपमा लिए । सम्मेलनलाई सम्बोधन गर्दै उनले अब कर्पोरेशनमार्फत विश्व शासनमा सुधार ल्याउने र चिनियाँ मोडको आधुनिकिकरणको विकास गर्ने बताए । सीको यस महत्वाकांक्षामा भारत कहाँ समावेश हुने हो भन्ने कुरा प्रतिक्षित छ । चीनको सबैभन्दा ठूलो रणनीतिक प्रतिस्पर्धी भारत कर्पोरेशनमा सन् २०१७ मा सामेल भएको थियो । भारतले यस संस्थालाई पश्चिमा, रुस चीनसँगको सम्बन्ध सन्तुलनमा राख्ने थलोका रूपमा लिएको छ ।

भारतले रूससँग स्थिर सम्बन्ध कायमै राखेको छ । युक्रेन हमलाको भारतले विरोध जनाएको छैन भने उसले रूससँग  आर्थिक कारोबार जारी राखेको छ । रूससँगको सम्बन्ध स्थिर रहेपनि भारत र चीनको सम्बन्ध भने चिसिँदो छ । सीमा विवादका कारण चीन र भारतको सम्बन्ध सुमधुर छैन । अझ भारत चीनविरूद्ध अमेरिकाले खडा गरेको क्वाड समूहमा समावेश भएपछि सम्बन्धमा थप असर पुगेको छ । अमेरिकाले मोदीलाई दिएको राजकीय सम्मानले पनि चीनलाई सशंकित बनाएको छ ।

चीन र भारतबीचको सम्बन्ध चिसिएपनि भारत सांघाइ कर्पोरेशनमा रणनीतिक हिसाबले बसिरहेको छ । अफगानिस्तानमा आफ्नो प्रभाव विस्तार र मध्ये एशियामा थप व्यापार विस्तारका लागि भारत कर्पोरेशनमा बसेको हो । त्यसैले, मोदीले कर्पोरेशनको बैठकमा भनेका छन्, ‘शान्ति स्थापना र प्रतिआतंकवादका लागि यो मञ्च निकै महत्वपूर्ण छ।’

मोदीले पाकिस्तानलाई लक्षित गर्दै यो अभिव्यक्ति दिएका हुन् । पाकिस्तानले भारतमा आक्रमणका लागि आतंकवादीलाई प्रायोजन गर्ने आरोप भारतले लगाउँदै आएको छ । ‘भारतले सांघाइ कर्पोरेशन छोड्दैन । कर्पोरेशन छोड्दा भारतले मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्न पाउँदैन भने शक्ति सन्तुलनका लागि पनि उसले यो मञ्च छोड्नेछैन’, प्राध्यापक श्रीराम चौलियाले भने । एजेन्सीहरु बाट