समाजवादी मोर्चाको रसायन

१ बर्ष अघि

२0८0 असार २१ बिहीबार

समाजवादी मोर्चाको रसायन

आफ्ना पार्टी, संगठन र नेता–कार्यकर्ता जोगाउन हम्मे परेकैले समाजवादी मोर्चा बनाएर नेता–कार्यकर्ता अलमल्याइराख्ने र सत्ता जोगाइराख्ने रणनीति छुपेको विषय होइन । एकअर्काको अस्तित्वरक्षामा मोर्चाको हतियार कति फलदायी होला, समयले तय गर्नेछ ।
लामो समयदेखि देश र जनताको भावना बेचेर सत्तामा बस्दै आएका पुराना राजनीतिक दलहरू र नेताहरू यति बेला चरम संकटमा छन् । उनीहरू अस्तित्व जोगाउन चुनावमा गठबन्धन र सरकार चलाउन मोर्चाको सहारा लिनुपर्ने कमजोर अवस्थामा पुगेका छन् । यतिसम्म कि, विपरीत राजनीतिक आदर्श बोकेका राजनीतिक दलहरूका बीचमा पनि गठजोड हुन थालेको छ । र पनि उनीहरूले आफ्नो अस्तित्वरक्षा गर्न सकिरहेका छैनन् ।

कुनै वैचारिक समरूपताबिना गठबन्धन बनाउने अभ्यास नेपालमा नयाँ भने होइन । तर पछिल्लो समयका सिद्धान्तहीन र नितान्त स्वार्थमा आधारित गठबन्धनका अभ्यासहरू प्रश्नयोग्य छन् ।

हाल सालै सत्तापक्षीय दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासँगै संसद्वादविरुद्ध संघर्षरत नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसमेत मिलाएर बनाइएको समाजवादी मोर्चा प्रश्नैप्रश्नको घेरामा छ । आफ्ना पार्टी, संगठन र नेता–कार्यकर्ता जोगाउन हम्मे परेकैले समाजवादी मोर्चा बनाएर नेता–कार्यकर्ता अलमल्याइराख्ने र सत्ता जोगाइराख्ने उनीहरूको रणनीति छुपेको विषय होइन । एकअर्काको अस्तित्वरक्षामा मोर्चाको हतियार कति फलदायी होला, त्यो भने समयले लिने परीक्षाले तय गर्नेछ ।

आखिर यो गठबन्धनलाई जोड्ने रसायन के हो रु समाजवाद हो कि राजनीतिक रूपान्तरण र शुद्धीकरण रु कि सत्तास्वार्थ र अस्तित्वरक्षा रु मोर्चामा आबद्ध दलहरूबीच प्रशस्तै विरोधाभास छन् । माओवादी केन्द्र माओवाद मान्छ । एकीकृत समाजवादी मार्क्सवाद र लेनिनवाद मात्रै मान्छ । जसपा कम्युनिस्ट पार्टी होइन । नेपाल कम्युनिस्ट पार्टी भने संसद्वाद र वर्तमान संविधानप्रति नै प्रश्न गर्दै हतियार उठाएर जनधनको क्षति गराउँदै आएको पार्टी हो ।


यति धेरै सैद्धान्तिक भिन्नता र फरक अस्तित्वका बीच उनीहरू किन एउटै मोर्चाको छातामुनि आए रु कुन नीति र नियतिले, कुन विचार र सिद्धान्तले जोडेको छ उनीहरूलाई रु देशको आवश्यकता कि कुर्सीको स्वार्थले रु यसलाई जोड्ने तन्तु के हो रु बुझ्न, खोतल्न जरुरी छ । पालैपालो नेतृत्व गर्न बनेको समाजवादी मोर्चामा आबद्ध दलहरूबारे केही चर्चा गरौं ।

खुम्चिँदो माओवादी केन्द्र

एकपछि अर्को चुनावपछि निरन्तर खुम्चिँदै गएको माओवादी केन्द्र एक्लै चुनाव लड्नै नसक्ने अवस्थामा पुगेको छ । कुनै बेला देशकै ठूलो दल यति बेला ३२ सिटमा खुम्चिएको छ र पनि सत्ताको शक्तिशाली खेलाडी बनेको छ । जनताको मन जित्नभन्दा मत तान्न बढी चिन्ता गरिरहेका छन् माओवादी अध्यक्ष प्रचण्ड । उनलाई एमाले अध्यक्ष ओलीको अगाडि केही गर्नैपर्ने र टिक्नैपर्ने चुनौती छ ।

अर्को चुनाव एक्लै लडे माओवादीको हालत के हुन्छ रु माओवादी एक प्रकारले सक्किने अवस्थामा पुगेको छ । यो कुरा प्रचण्डलाई राम्रोसँग थाहा छ । त्यसैले, सरकार टिकाउन अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् । विभिन्न दलका भ्रष्ट नेतादेखि कर्मचारीसम्मको फाइल खोलेर केही गरेको भान दिन कोसिस गरिरहेका छन् । उनले यसलाई किनारा लगाउन सके भने मात्रै फाइल–खोलाइको औचित्य सिद्ध हुनेछ ।

राज्य प्रणाली नै कमजोर रहेको अवस्थामा देखावटी काम गरेर केही समयका लागि चर्चा त कमाइएला तर त्यसले दीर्घकालीन समाधान दिनेछैन । विचार र संगठनकै शल्यक्रिया गर्नुपर्ने आवश्यकतालाई दुत्कारेर गरिने कस्मेटिक उपचारले माओवादी केन्द्र तंग्रिने ठान्नु प्रचण्डको भूल हो ।

विप्लवले बदलेको बाटो

विप्लवले अन्ततः पार्टी विभाजन र हिंसात्मक बाटोको औचित्य पुष्टि गर्न सकेनन् । प्रचण्डले जनतालाई धोका दिएर माओवादी महापतन भएको आरोप लगाउँदै विद्रोह गर्दै हतियार उठाएका थिए उनले । उनको क्रान्ति चन्दा असुल्ने क्रियाकलापभन्दा माथि उठ्नै सकेन ।

नयाँ समाजवादी क्रान्ति गर्छु भनेर उनले हिंसाको बाटो रोजे । कुमार पौडेलसहित १२ जनाले ज्यानै गुमाउनुपर्‍यो । कति घाइते र अपांग भए १ कति अझै जेलमा छन् १ कैयौंले मुद्दा खेपिरहेका छन् । आफैंले लेखेको पुस्तकको शीर्षकझैं महापतनको बाटामा विप्लव आफैं लम्किन पुगेका छन् ।

उनको आन्दोलनमा केही मान्छेको वर्गउत्थान भयो । पार्टी वैचारिक विचलनमा फसेपछि केही नेता–कार्यकर्ता पुरानै पार्टीमा फर्के । उनको पार्टी पनि विभाजन भएर धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा बहुमत पार्टी गठन भयो ।

जे होस्, विप्लवले विद्रोहको औचित्य पुष्टि गर्न सकेनन् । उनी क्रान्तिका पक्षमा टिक्न सकेनन् । क्रान्ति गर्न पनि नसक्ने, क्रान्ति भन्न पनि नछाड्ने अवस्थामा समाजवादी मोर्चाको फेरो समाउन आइपुगेका छन् । आफैंले गरेका गालीहरूको व्यवस्थापन कसरी गर्ने रु आफैंले बनाएका भ्रातृ संगठनहरूलाई कसरी काउन्टर गर्ने रु विप्लवलाई ठूलै चुनौती छ ।

फुटको औचित्य खोज्दै एकीकृत समाजवादी

एकीकृत समाजवादीको अवस्था पनि त्यस्तै छ । एमाले किन र केका लागि विभाजन गरियो रु फुटको औचित्य पुष्टि गर्न सकेको छैन । पार्टीभित्रै एक प्रकारको विग्रह र विवाद मौलाउँदै छ । नेता–कार्यकर्ताहरूको एमाले फर्किने क्रम चलिरहेको छ । नयाँ विचार, योजना र कार्यक्रम केही दिनै सकिरहेको छैन उसले पनि ।

राजेन्द्र पाण्डे बजेट पास नगर्ने धम्की दिन्छन् । झलनाथ खनाल वर्ग दुश्मन खोजिरहेका छन् । नेताहरू पण्डितको गोठको गाईको मानसिकतामा छन् । ओलीको अगाडि नैतिक रूपमा महासंकटको सामना गरिरहेका छन् ।

न क्षेत्रीय शक्ति, न राष्ट्रिय

‘मधेशको मुक्तिदाता मै हुँ’ भनेर लामो समयदेखि मधेश मुक्तिको ठेक्का लिइरहेका उपेन्द्र र उनी नेतृत्वको जसपा पनि निरन्तर खुम्चँदै छ । मधेशी जनताको भावनासँग उनले पटकपटक सत्ता साटेका छन् । सत्ताशक्तिमा बसेकाहरूसँग घाँटी जोडेर सिंहदरबारसँग सौदाबाजी गर्नु उनको नियत र नियति दुवै भएको छ । उनी पनि आफ्नो अस्तित्वरक्षा गर्न समाजवादी मोर्चाको फुर्को समातेर राजनीतिक वैतरणी तर्न खोजिरहेका छन् । न क्षेत्रीय शक्तिका रूपमा प्रभावशाली रहने न राष्ट्रिय शक्तिका रूपमा फैलन सक्ने अवस्थामा पुगेको छ, जसपा ।

मधेशमा उदाएका डा। सीके राउत नेतृत्वको जनमत पार्टी यसरी नै विस्तार हुँदै जाने हो भने उपेन्द्र मधेशबाट विस्थापित हुने दिन धेरै टाढा छैन । उनी पछिल्लो उपनिर्वाचनमा सत्ता र गठबन्धनको शक्ति दुरुपयोग गरेर निर्वाचित भएका हुन् । चुनाव जितेर पनि राजनीति हारेका उपेन्द्रले उपनिर्वाचनबाट दिएको सन्देश हो— अब उनी मधेशमा एक्लै चुनाव लड्न सक्ने अवस्थामा छैनन् ।

उता पश्चिम तराईमा थरुहट आन्दोलनको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टी प्रभावशाली बनिरहेको छ । यस्तो अवस्थामा उपेन्द्रसँग विगतका आन्दोलनको व्याख्यानबाहेक भविष्यको कुनै योजना छैन । त्यसैले उनी संघीयता र नागरिकता प्राप्तिको जस आफ्नो पोल्टामा पार्न प्रयत्नरत छन् । २२ जिल्लाको मधेश ८ जिल्लामा सीमित भएको छ, पहिचानविहीन सात प्रदेशको गठन भएको छ, समानुपातिक समावेशिता गुम्दै गएको छ तर यी विषयको अपजस लिनबाट भने उनी भाग्न खोजिरहेका छन् ।

बाहिरै बाबुराम

माओवादी नेतृत्वले सधैं लगाउने नारा हो— जसको नीति, उसैको नेतृत्व । तर, समाजवादको भाष्य कथ्दै आइरहेका डा। बाबुराम भट्टराई र नेपाल समाजवादी पार्टी यो मोर्चाबाहिरै छन् । यसबाट मोर्चा दीर्घकालीन राजनीतिक उद्देश्यभन्दा अल्पकालीन दलीय स्वार्थले बनेको आशंका थप बलियो बनेको छ ।

समाजवादी मोर्चामा दलहरूलाई जोड्ने रसायन न राजनीतिक शुद्धीकरणको इच्छाशक्ति हो न त जनहित र राष्ट्रहितको चाहना । न विगतका गल्ती स्विकार्ने मनसाय न त समाजवादको माया । यो त केवल व्यक्तिगत र दलगत स्वार्थकेन्द्रित क्षणिक आवश्यकताको प्रतिफल मात्रै हो । संसद्वादी र गैरसंसद्वादी, कम्युनिस्ट र गैरकम्युनिस्ट, पहिचानवादी र गैरपहिचानवादी शक्तिहरू सत्तास्वार्थका लागि एक ठाउँमा आउनु ‘कहीँ नभएको जात्रा हाँडीगाउँ’ मा भनेजस्तै राजनीतिक नौटंकीका रूपमा देखा परेको छ ।

प्रचण्डले ३२ सिटबाट ५४ सिट पुर्‍याइदिन खोजेको सन्देश उनकै लागि प्रत्युत्पादक हुने जोखिमको प्रारम्भिक संकेत देखिएको छ । विपक्षीलाई गिज्याउने, होच्याउने र उचाल्ने काम गर्दा कांग्रेस, एमाले लगायतका दल मिल्ने सम्भावना बढेर गएको छ । समाजवादी मोर्चा नामको खिचडी पकाउनुको अन्तर्य के हो रु विपरीत रसायनहरूको रासायनिक प्रतिक्रियाले विषाक्त र ध्वंसात्मक प्रतिफल मात्रै दिने जोखिम हुन्छ । यसले देशलाई निकास नदिने निश्चित छ ।  ईकान्तिपुर