प्रधानमन्त्रीले अभिव्यक्ति दिएकै कारण राजीनामा दिनु पर्दैन गठबन्धन

१ बर्ष अघि

२0८0 असार २१ बिहीबार

प्रधानमन्त्रीले अभिव्यक्ति दिएकै कारण राजीनामा दिनु पर्दैन  गठबन्धन

काठमाण्डौ । सत्ता गठबन्धनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिकै कारण राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ । बिहीवार आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकले कुनैबेलाको प्रसङ्गमा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको निष्कर्ष गठबन्धनको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको राजीनामा नै माग्ने निर्णय संसदीय दलको निर्णयबाट गरेको भन्ने कुरा आयो । एउटा त यो निर्णय असंसदीय निर्णय हो । संसदीय अभ्यासमा प्रधानमन्त्रीले बोलेको कुरालाई कसैलाई आपत्ति भयो भने संसदमा आवाज उठाउन पाइन्छ ।  तर उहाँहरुबाट हतारमा प्रधानमन्त्रीको पनि कुरै नसुनिकन राजीनामा माग गर्ने निर्णय भएको छ, हामी गठबन्धन दलका सबै बसेर छलफल गरेर राजीनामा दिनु नपर्ने निर्णय गरेका छौँ । र संसद् फेस गर्ने निर्णय गरेका छौँ ।’

बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा आज बेलुका ५ बजेसम्म नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने  गरी प्रस्ताव पेस गर्न सङ्घबाट निर्देशन दिइएको पनि उहाँले बताउनु भयो ।

उपाध्यक्ष पाण्डेले बैठकले मिटरब्याजविरुद्ध सम्बन्धीको अध्यादेशमा रहेको समस्याका बारेमा गठबन्धन दलबीच छलफल गरी चाँडै नै संसदबाट पास निर्णय भएकोसमेत बताउनु भयो ।