भोलिदेखी पञ्चेश्वरबारे नेपाल–भारत बैठक पोखरामा सुरु हुने

१ बर्ष अघि

२0८0 असार २0 बुधबार

भोलिदेखी पञ्चेश्वरबारे नेपाल–भारत बैठक पोखरामा सुरु हुने

काठमाडौ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको ‘गभर्निङ बडी’को बैठक भोलि बिहीबार देखि पोखरामा सुरु हुने भएको छ । भोलिदेखि सुरु हुने २ दिने बैठकमा नेपालका ऊर्जासचिव दिनेश घिमिरे र भारतका जलस्रोत सचिव पंकज कुमारले संयुक्त अध्यक्षता गर्नेछन् ।

मंसिर २०७६मा दिल्लीमा बसेपछि पञ्चेश्वर विकास प्राधिकरणको गभर्निङ बडीको बैठक बस्न सकेको थिएन । यसले गर्दा ४३ महिनासम्म नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विवादबारे छलफल नै हुन पाएको थिएन । महामारी लगायतका बाहना गर्दै भारतीय पक्षले छलफल नै गर्न चाहेको थिएन ।
गत १७–२० जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर ३ महिनाभित्रै टुंगो लगाउने सहमति भएको थियो । त्यसअनुसार कसरी काम अघि बढाउने भन्नेबारे बैठकमा छलफल हुनेछ । सहमतिअनुसार अबको २ महिनाभित्र पञ्चेश्वरको विवाद समाधान भइसक्नुपर्छ ।


२९ माघ २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी पीभी नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए । त्यतिबेला ६ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर०को टुंगो लगाउने सन्धिमा उल्लेख भएपनि अहिलेसम्म कागजी प्रक्रियामै अलमल र विवाद भइरहेको छ ।

भोलिदेखि सुरु हुने बैठकमार्फत विवाद समाधानका लागि कार्ययोजनाहरु स्वीकृति गर्ने तयारी छ । बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको महेन्द्रनगरस्थित कार्यालयमा दुबै देशका कर्मचारीहरुको नियमित उपस्थिति गराएर दैनिक कार्यसञ्चालन प्रभावकारी बनाउनेबारे छलफल हुने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा प्रवक्ता मधुप्रसाद भेटवालले बताउनुभयो । उनका अनुसार बैठकमा गत मार्चमा सकिएको विज्ञ समूहको म्याद पनि थप गर्नेबारे छलफल हुनेछ ।

महाकाली सन्धि भएको २७ वर्षसम्म पनि पञ्चेश्वरको निर्माण सुरु हुन सकेको छैन । प्रत्येक नेपाल–भारतबीचको प्रधानमन्त्रीस्तरको भ्रमणमा एजेन्डा बन्ने गरेपनि परियोजना अघि बढाउने विषयमा डीपीआरमै दुई देशबीच मतभेद हुँदै आएको छ ।