प्रधानमन्त्रीलाई कसले स्पष्टीकरण दिनु भन्यो हामीलाई राजीनामा चाहिएको छ ओली

१ बर्ष अघि

२0८0 असार २0 बुधबार

प्रधानमन्त्रीलाई कसले स्पष्टीकरण दिनु भन्यो  हामीलाई राजीनामा चाहिएको छ  ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताउनुभएको छ । राष्ट्रिय स्वाधीनता, स्वाभिमान, संविधान र संसदमाथि नै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्रीले राजीनामा दिन आवश्यक रहेको ओलीको प्रष्टीकरण थियो । 

प्रधानमन्त्री प्रचण्डले केही दिनअघि भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतसँग पटक–पटक पहल गरेको अभिव्यक्ति दिएपछि एमालेलगायतका विपक्षी दलहरूले राजीनामा माग गर्दै बुधवार संसद् बैठकमा अवरोध गरेका थिए । त्यसलगत्तै ओलीले सञ्चारकर्मीमाझ त्यस अभिव्यक्तिबारे प्रधानमन्त्रीको स्पष्टीकरण नभई राजीनामा नै आफ्नो पार्टीलाई चाहिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले राम्रो काम गर्नुभएन । उहाँले राष्ट्रिय स्वाभिमान, स्वाधीनतामाथि, संविधानमाथि, संसदमाथि घोर अपमान हुने खालको अभिव्यक्ति दिनुभयो । यसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ । कसले उहाँलाई स्पष्टीकरण दिनु भन्यो, कहाँ रु हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिएको छ ।’

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डले केही पनि राम्रो काम नगरेको जिकिरसमेत गर्नुभयो ।