देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा बाढीको जोखिम

१ बर्ष अघि

२0८0 असार १९ मंगलवार

देशका धेरै ठाउँमा बिहानैदेखि वर्षा, गण्डकी र लुम्बिनीमा बाढीको जोखिम

काठमाण्डौ ।  देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।  यसले गर्दा यी क्षेत्र भएर बग्ने खहरे खोलामा आकस्मिक बाढीको जोखिम छ । साथै होचा ठाउँमा डुबान हुन सक्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाका अनुसार स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपास ठूलो पानी परेको हो । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने जोखिम हुँदा दिउँसोसम्म नै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज पनि गण्डकी र लुम्बिनीसहित कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो कोशी र गण्डकी प्रदेशका केही ठाउँमा र राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार तराईका जिल्लामा आज हावाहुरीको समेत सम्भावना छ ।