नेपाल भारतको ऊर्जा व्यापार सम्झौतालाई औपचारिकता दिन बाँकी छ, छिट्टै गर्छौं प्रचण्ड

१ बर्ष अघि

२0८0 जेष्ठ २९ सोमबार

नेपाल भारतको ऊर्जा व्यापार सम्झौतालाई औपचारिकता दिन बाँकी छ, छिट्टै गर्छौं  प्रचण्ड

काठमाडौं।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा व्यापारसम्बन्धी सम्झौतालाई औपचारिकता दिन मात्र बाँकी रहेको बताएका छन्। बुधबार राष्ट्रिय सभामा भारत भ्रमण भएका विषयवस्तुको जानकारी दिने क्रममा ऊर्जा व्यापारसम्बन्धी सम्झौतालाई औपचारिकता दिन बाँकी रहेकाले छिट्टै गर्ने बताएका हुन्।

उनले भ्रमणका क्रममा जलविद्युतका क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा समेत बलियो सहमति निर्माण भएको उल्लेख गरे। उनले दीर्घकालीन ऊर्जाव्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको शुरूवात गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिए।

‘विभिन्न जलविद्युत आयोजनामा लगा भित्र्याउने, द्विपक्षीय ऊर्जा व्यापारका लागि ट्रान्समिसन लाईनलगायतका संरचनाको निर्माण गर्ने तथा नेपालबाट भारततर्फ ऊर्जाको दीर्घकालीन व्यापारका लागि वैधानिक आधार सुनिश्चित गर्ने विषयमा पनि भ्रमणमा छलफल र केहि महत्वपूर्ण सहमति भएको छ । खास गरी दीर्घकालीन ऊर्जाव्यापार र भारतीय भूमि हुँदै बङ्गलादेशसम्म नेपालबाट जलविद्युत निर्यातको शुरूवात गर्ने सैद्धान्तिक सहमति भई त्रिपक्षीय सम्झौताका लागि प्रक्रिया अघि बढाउने सहमति भएको छ ।’ प्रचण्डले भने, ‘भारतका प्रधानमन्त्रीले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत नेपालबाट आयात गर्ने भारतको लक्ष्य रहेको बताउनुभएको छ। ऊर्जा व्यापारसम्बन्धी सम्झौता सबै हिसाबबाट सम्पन्न भएको र औपचारिकता दिन मात्र बाँकी छ, जुन छिट्टै सम्पन्न हुँदैछ । यसका अतिरिक्त, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनासहित थप १२ सय मेगावाट क्षमताका आयोजनाबाट भारततर्फ जलविद्युत निर्यातका लागि प्रधानमन्त्री मोदीजीलाई अनुरोध गरेको छु।’