ओझेलमा टिंकर सडक, महाकाली कोरिडोरमा बजेट अभाव

१ बर्ष अघि

२0८0 जेष्ठ २८ आईतवार

ओझेलमा टिंकर सडक, महाकाली कोरिडोरमा बजेट अभाव

दार्चुला । दार्चुलाको लाइफलाइनको रुपमा हेरिएको महाकाली करिडोर अन्तरगत निर्माणाधिन दार्चुला–टिंकर सडक बजेट अभावको कारण ओझेलमा परेको छ । दार्चुलाको विकासका लागि पहिलो प्राथमिकताको योजना दार्चुला–टिंकर सडकमा बजेट थप्नका लागि स्थानीय राजनीतिक र प्रशासनिकस्तरबाट पटकपटक माग भए पनि बजेट बढ्नुको सट्टा घटेर आउने गरेको छ । सरकारले पर्याप्त बजेट नदिदा आर्थिक, व्यापारीक, धार्मीक र पर्यटकीय महत्व बोकेको टिंकर सडकले गति लिन सकेको छैन् । टिंकरमा बसेको व्याँस गाउँकार्यपालिका बैठकले पनि टिंकर सडकमा बजेट न्यून भएको भन्दै बजेट बढाउन माग गरेको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूभाग कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र नजिकका छाङरु र टिंकर गाउँ भएर चीनको सीमासम्म जोडने दार्चुला–टिंकर सडक निर्माण कार्य पुषदेखि सुस्त छ । नेपाली सेनाले निर्माण गरिरहेको टिंकर सडकले बजेट अभावमा गति लिन नसकेको हो । बजेट वर्षेनी घटेर आउने गरेको र बजेटको आधारमा लक्ष्य निर्धारण हुने गरेको नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुई किलोमिटरमा ट्र्याक खोल्ने र डेढ किलोमिटर सडक स्तरोन्नती गर्ने लक्ष्य रहेकोमा लक्ष्य करिब पुरा भइसकेको उहाँले बताउनुभयो । कडा चट्टानी भिर काटेर सडक निर्माण गर्नुपर्ने भएकोले थोरै सडकमा धेरै लगानी गर्नुपर्ने अवस्था छ ।


चालु आर्थिक वर्ष २०७९र८० मा टिंकर सडक निर्माणका लागि सरकारले साढे नौँ करोड बजेट सेनालाई उपलब्ध गराएकोमा हिउँदमै सकिएको बताइएको छ । नेपाली सेनाले टिंकर सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपियाँ सरकारसंग माग गरेकोमा साढे नौँ करोड मात्रै पाएको थियो । सरकारबाट पर्याप्त बजेट उपलब्ध नभएपछि गत पुष २६ गतेदेखि सडक निर्माणमा संलग्न दुई सयभन्दा बढी कामदार घर फर्किएका थिए । व्याँस गाउँपालिका–३ तुषारपानी र वडा नम्बर २ दुम्लिङको चट्टानी भागमा सडक निर्माणको कार्य भइरहेको छ । अघिल्लो वर्ष २०७७र७८ मा डिपिआर संसोधन, क्याम्प स्थापना लगायतका प्राविधिक कार्य गरिएकोमा गत वर्ष २०७८र७९ देखि सडक निर्माण सुरु गरिएको नेपाली सेनाका सूचना अधिकारी भण्डारीले बताउनुभयो । गतवर्ष २० करोड बजेटमा तुषारपानीदेखि दुम्लिङसम्मको आठ किलोमिटर लामो सडक निर्माण गरिएको थियो । यो वर्षको सुरुमै न्युन बजेट दिइयो, विनियोजित बजेट सकिएपछि थप बजेटको माग गरिए पनि सम्बोधन नभएको सैन्य अधिकृतहरुले बताएका छन् । यद्धपी सूचना अधिकारी भण्डारीले भने सरकारले दिएको बजेटको आधारमा लक्ष्य निर्धारण गरेर सेनाले काम गरिरहेको बताउनुभयो । बढी बजेट प्राप्त भएमा काम पनि बढी गर्न सकिने उहाँको भनाई छ । सेनाले निर्माण गरिरहेको टिंकर सडक निर्माण कार्य पूर्ण रुपमा बन्द भएको गलत सन्देश फैलिने भन्दै सेनाले सुस्त गतिमा काम गरिरहेको जानकारहरु बताउछन् । अगामी आर्थिक वर्षको एकिन बजेट प्राप्त हुन बाँकी भएपनि महाकाली करिडोरमा बजेट घटेकोले टिंकर सडकमा समेत बजेट घट्न सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरिरहेका छन् । अहिलेकै गतिमा सडक निर्माण हुने हो भने टिंकरसम्म सडक विस्तार गर्न तीस वर्ष भन्दा बढी लाग्ने भएकोले बजेट र लक्ष्य बढाउनु आवश्यक रहेको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । संघीय सरकारसंग टिंकर सडकमा बजेट थप्नका लागि पटकपटक माग गर्दा समेत सुनुवाई नभएको उहाँको गुनासो छ ।

महाकाली कोरिडोरमा बजेट अभाव
कञ्चनपुरको ब्रह्मदेबबाट डडेल्धुरा, बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोर सडक आयोजनामा बजेट अभाव देखिएको छ । महाकाली करिडोर अन्तरगत ब्रह्मदेबदेखि दार्चुलाको सुन्सेरासम्म ३३४ किलोमिटर सडक आयोजनामार्फत र सुन्सेरादेखि टिंकरसम्मको बाँकी ७९ किलोमिटर नेपाली सेनाले निर्माण गरिरहेको छ । महाकाली करिडोरमा वर्षेनी बजेट घट्दै गएको छ । महाकाली करिडोरमा आर्थिक वर्ष २०७८र०७९ मा एक अर्ब तीन करोड बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्ष २०७९र०८० मा ५१ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । अगामी आर्थिक वर्ष २०८०र०८१ का लागि अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेटमा समेत महाकाली करिडोरका लागि ४५ करोड मात्रै विनियोजन गरिएको उल्लेख छ ।

बजेट अभाव र सडक क्षेत्रमा पर्ने रुख कटानको आदेश समयमै नआउदा महाकाली करिडोर निर्माणमा ढिलाइ भइरहेको महाकाली करिडोर आयोजना कार्यालय प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिनुभयो । करिडोर अन्तरगत कञ्चनपुरमा ११ किलोमिटर सडक पर्छ । रुख कटान आदेश ढिलो आएकोले कञ्चनपुरमा पछिल्लो समय मात्रै सडक निर्माणको काम अगाडी बढीरहेको उहाँले बताउनुभयो । करिडोरको ११ किलोमिटरदेखि ६९ किलोमिटर सडक डडेल्धुरामा पर्छ । डडेल्धुरामा ११ देखि ३८ किलोमिटरसम्म ट्र्याक खुलाउने काम भइसकेको र बाँकी ३९ देखि ६९ किलोमिटर सम्मको ३१ किलोमिटर सडकमा रुख कटान आदेश आउन बाँकी रहेको कार्यालय प्रमुख जोशीले बताउनुभयो । करिडोरको ६९ देखि २१३ किलोमिटर क्षेत्र बैतडीमा पर्छ । बैतडीमा ४८ किलोमिटर सडक क्षेत्रमा ट्र्याक खुलाउन बाँकी रहेको छ । २१३ देखि ३३४ किलोमिटरसम्म दार्चुलामा पर्छ । दार्चुलामा २२ किलोमिटर सडकको ट्र्याक खुलाउन बाँकी रहेको उहाँले बताउनुभयो । ३३४ किलोमिटरभन्दा माथि टिंकरसम्म नेपाली सेनामार्फत सडक निर्माण कार्य भइरहेको छ ।

महाकाली लोकमार्ग भेटिएको क्षेत्रमा करिडोर आयोजनाले सडक निर्माण गर्नु नपरेको कारण समेत दार्चुला र बैतडीमा बढी प्रगति देखिएको छ । दार्चुला सदरमुकाम खलंगास्थित बसपार्कदेखि सुन्सेरासम्मको लास्कुखोलाभन्दा माथिल्लो क्षेत्रमा र बेतदेखि सलेतीसम्मको क्षेत्रमा स्तरोन्नतीको काम भइरहेको र लाली क्षेत्रमा ट्र्याक खुलाउने काम भइरहेको आयोजना प्रमुख जोशीले बताउनुभयो ।
भारतीय सीमा जोडिएको कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुलाका विकट क्षेत्रलाई जोड्दै चीनको सीमा नाकासम्म पुग्ने यो सडक बन्दा सुदूरपश्चिमका पहाडी जिल्लाको आधाभन्दा बढी भूभाग सिधै तराईसँग जोडिन्छ । महाकाली करिडोरमा हालसम्म ६० प्रतिषत बढी क्षेत्रमा सडकको ट्र्याक खुलाउने काम भइसकेको बताइएको छ । समयमै रुख कटानको आदेश आउनुका साथै प्रयाप्त बजेट विजियोजन भएमा दुई वर्षभित्रै महाकाली करिडोरको सबै क्षेत्रमा ट्र्याक खुलाउने काम भइसक्ने आयोजना प्रमुख जोशीको भनाई छ ।