प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री प्रचण्ड र भारतीय धार्मिक गुरु रामदेव द्धारा उद्घाटन

१ बर्ष अघि

२0८0 जेष्ठ २३ मंगलवार

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको प्रधानमन्त्री प्रचण्ड र भारतीय धार्मिक गुरु रामदेव द्धारा उद्घाटन

खप्तडमा प्रथम अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ। सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  पुगेका छन्।  उनीसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावल तथा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति छ। सम्मेलन तीन दिनसम्म चल्ने छ। 


सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको समन्वयमा सम्मेलनको आयोजना गरिएको हो।

खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तडलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्र मानिन्छ। आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीय र तेस्रो मुलुकका पर्यटक बढ्ने खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्यसचिव भीमबहादुर खड्काले बताए। 

त्रिवेणीधाम, केदारढुंगा, नागढुंगा, खप्तड दह, खप्तड आश्रम, सहस्रलिंग, खप्तडबाबाको कुटीजस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ। 

विविधताको फूलबारी खप्तड सयौँ प्रजातिका चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटीले भरिपूर्ण छ। समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै दुई सय २५ वर्गकिलोमिटरमा फैलिएको छ।