भारतीय प्रधानमन्त्रीबाट पहिलोपटक सीमासम्बन्धी विषयमा स्पष्ट विचार आयो प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अघि

२0८0 जेष्ठ २२ सोमबार

भारतीय प्रधानमन्त्रीबाट पहिलोपटक सीमासम्बन्धी विषयमा स्पष्ट विचार आयो  प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गम्भीर ढंगले आग्रह गरेको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चारदिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो बताएका हुन्। त्यस अवसरमा प्रधानमन्त्रीले दुई मुलुकबीचको सीमालगायतका थाती रहेका सबै समस्याको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमाका सम्बन्धमा पहिलोपटक स्पष्ट विचार राखेको दाबी गरे।

‘भेटवार्तामा सीमासम्बन्धी विषयहरूमा गम्भीर रूपले छलफल भएको छ । सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढंगले आग्रह गरेको छु । यहाँहरूलाई थाहा नै छ । प्रधानमन्त्री मोदीजीले पनि संयुक्त प्रेसमिटको अवसरमा सीमालगायतका थाती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नुभएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमासम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो,’ प्रधानमन्त्री दाहालले भने।