प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावादमा बिहीबार भेटवार्ता गर्ने

१ बर्ष अघि

२0८0 जेष्ठ १५ सोमबार

प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावादमा बिहीबार भेटवार्ता गर्ने

काठमाडौंः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बिहीबार भेटवार्ता गर्ने भएका छन्।

शनिबार परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण कार्यतालिकामा प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलले हैदरावाद हाउसमा वार्ता गर्ने उल्लेख छ। प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमणमा जान लागेका हुन्। उनीहरुबीच द्वीपक्षीय हितका विषयमा छलफल हुनेछ। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

 

भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना हुनेछ। प्रधानमन्त्रीको साथमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुनेछन्। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट गर्ने कार्यतालिका रहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

 

प्रधानमन्त्री शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।