पशुपतिको जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइन प्रधानमन्त्री

१ बर्ष अघि

२0८0 जेष्ठ १३ शनिबार

पशुपतिको जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइन  प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताउनु भएको छ । शनिवार आजको प्रतिनिधि सभा बैठकमा उहाँले पार्टीका सांसद लेखनाथ दाहालले यो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको बताउनु भएको हो ।

आज प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई समय दिनु भएको थियो। 

प्रधानमन्त्री प्रचण्डले प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसद्को रेकर्डबाट हटाउन सकिने बताउनु भयो । उहाँले यो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानबिन हुने आश्वासन समेत दिनु भयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परि छानबिन, अनुसन्धान भइरहेको छ । आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन ।’

प्रधानमन्त्री प्रचण्डले यो प्रकरणबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो । उहाँले जवाफ दिएपछि अहिले संसद् बैठक सुरु भएको छ । एमालेले  यो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रवार हिजो प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको थियो।