एमसीसीको प्रसारणलाइन ठेक्कामा एउटै चिनियाँ कम्पनी आएनन् भारतीयबीच मात्रै प्रतिस्पर्धा

१ बर्ष अघि

२0८0 जेष्ठ १0 बुधबार

एमसीसीको प्रसारणलाइन ठेक्कामा एउटै चिनियाँ कम्पनी आएनन् भारतीयबीच मात्रै प्रतिस्पर्धा

काठमाडौं । अमेरिकी सरकारको अनुदानको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी परियोजना अन्तर्गत नेपालमा बन्ने प्रसारणलाइन निर्माणका लागि ६ वटा कम्पनीहरुले बोलपत्र पेश गरेका छन् । खुलेको बोलपत्रअनुसार एमसीसीको ठेक्का लिन चिनियाँ कम्पनीले चासो नै दिएनन् । सबै भारतीय कम्पनीहरू एमसीसीको परियोजना हात पार्न प्रतिस्पर्धामा छन् ।

नेपालमा रातमाटे(लप्सीफेदी( हेटौंडा नयाँ दमौली नयाँ बुटवल खण्डमा प्रसारणलाइन निर्माणका लागि मिलेनियम च्यालेन्ज एकाउन्ट एमसीए नेपालले बोलपत्र आह्वान गरेको थियो । सोमबार बोलपत्रहरू खोलिएको थियो, जसमा भारतका मेघा इन्जिनियरिङ एन्ड इन्फ्रास्ट्रक्चर लिमिटेड र पावर मेक प्रोजेक्ट्स लिमिटेडले संयुक्त रूपमा बोलपत्र पेश गरेका छन् । यस्तै भारतीय कल्पतरू पावर ट्रान्समिसन लिमिटेड, केईसी इन्टरनेशनल लिमिटेड, ट्रान्सरेल लाइटिङ लिमिटेड, टाटा प्रोजेक्ट्स लिमिटेड र लार्सन एण्ड टर्बो लिमिटेडबाट पनि बोलपत्रहरु प्राप्त भएको एमसीए नेपालले जनाएको छ । बोलपत्रबारेको निर्णय भने वेबसाइटमा प्रकाशित गरिने जनाइएको छ । ठेक्कामा चिनियाँ कम्पनीहरूको किन बोलपत्र परेन भन्ने स्पष्ट भएको छैन ।

सस्तो मूल्यमा काम गर्ने मानिएका चिनियाँहरूको नेपालको प्रसारणलाइनको ठेक्कामा वर्चस्व छ । तर, एमसीसीको ठेक्कामा चिनियाँ कम्पनीहरू नै प्रतिस्पर्धामा नै नआउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले अमेरिकी लगानीको परियोजनामा चिनियाँहरू सहभागी हुन नचाहेको स्पष्ट गरेको छ ।

प्रसारणलाइन निर्माणका लागि बोलपत्र लिइसक्दा पनि परियोजनाको पूर्वतयारीको काममा चरम ढिलाइ भइरहेको छ । पूर्वतयारीलाई गति नदिई ढिलाइकै बीच आयोजना कार्यान्वयन गर्ने एमसीए नेपालको तयारी छ ।

प्रसारणलाइन बन्ने १० वटा जिल्लाका ३० वटा गाउँपालिका तथा नगरपालिका ९२ वटा वडाहरु भएर जाने प्रस्तावित प्रसारणलाइन बन्ने क्षेत्रको तार र टावर रहने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ ।

एमसीए नेपालका अनुसार अहिले जग्गा अधिग्रहणका लागि १० मध्ये ९ वटा जिल्लामा मात्रै प्रारम्भिक सूचनाहरु प्रकाशन भएका छन् ।
प्रभावित क्षेत्रको जग्गाको मुआब्जा निर्धारण, वितरण, पुनर्बास र वन क्षेत्रको रुख कटान मुख्य काम हो । यी काम नसकी आयोजना निर्माणको काम अघि बढ्न कठिन हुन्छ ।

अहिलेसम्म जग्गाको मुआब्जा निर्धारण गर्ने अधिग्रहण गर्ने अन्तिम सूचना निकाल्ने काम भएको छैन ।

प्राविधिकहरुका अनुसार एउटा टावरको लागि करिब एक रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ । आयोजनामा कुल ८५६ टावरमध्ये आधाजसो सरकारी र सार्वजनिकमा पर्छ भने आधाजसो निजी जमिनमा राख्नुपर्ने अनुमान छ । विद्युत प्राधिकरणको अभ्यासअनुसार तारको मुनि रहने जमिन ९दायाँ–बायाँ २३–२३ मिटर०को क्षतिपूर्ति मूल्यांकनको १० देखि २५ प्रतिशतसम्म मात्रै दिने योजना छ । त्यसमा स्थानीय बासिन्दालाई मनाउन सकस छ । झन् एमसीसी परियोजनाबारे सर्वसाधारणमा रहेको नकारात्मक धारणाले चुनौती बढाएको छ ।