हिरोसिमामा गान्धीको प्रतिमा

१ बर्ष अघि

२0८0 जेष्ठ ९ मंगलवार

हिरोसिमामा गान्धीको प्रतिमा

काठमाडौँ — दोस्रो विश्वयुद्धमा अमेरिकी आक्रमणमा ध्वस्त भएको जापानको हिरोसिमामा अंहिसावादी आन्दोलन तथा भारतीय स्वतन्त्रता संग्रामका नेता महात्मा गान्धीको प्रतिमा अनावरण गरिएको छ ।

 

 

जी-७ देशको बैठकमा सहभागी हुन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार गान्धीको प्रतिमा अनावरण गरेका हुन् । गान्धीको प्रतिमा अनावरण गर्दै मोदीले भनेका छन्, ‘सबै महात्मा गान्धीको आदर्शमा हिँड्दै विश्वकल्याणको मार्गमा अगाडि बढ्नुपर्छ । यही नै महात्मा गान्धीप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।’

 

 

हिरोसिमामा महात्मा गान्धीको मूर्तिले अहिंसाको विचारलाई अगाडि बढाउने पनि मोदीले जनाएका छन् । मोदीले अगाडि भने, ‘हिरोसिमाको नाम सुन्नेबित्तिकै आज पनि विश्व काँप्छ । जी-७ बैठकको यस यात्रामा सबैभन्दा पहिले पुज्य महात्मा गान्धीको प्रतिमा अनावरण गर्ने सौभाग्य प्राप्त भएको छ । आज विश्व जनवायु परिवर्तनका साथै आतंकवादविरुद्धको लडाइँको सामना गरिरहेको छ।’

 

सन् १९४५ अगस्ट ६ र ९ का दिन अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्दा झन्डै तीन लाख मानिसले जीवन गुमाए भने थुप्रैले अझै पनि घाइते तथा अपाङ्ग भएर बाँच्नुपरेको छ ।