यसै बर्ष भित्र कालापानीसम्म पुग्ने घाेरेटाे बाटो बन्दै 

५ बर्ष अघि

२0७५ कार्तिक १२ सोमबार

यसै बर्ष भित्र कालापानीसम्म पुग्ने घाेरेटाे बाटो बन्दै 

ललित सामन्त, कार्तिक १२ दार्चुला । व्यासँ गाउँपालिकाले वडा नम्बर १ मा रहेको नेपालको मिचिएको भूमि कालापानी सम्म पुग्ने घोरेटो बाटो चालु आर्थिक बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भईरहेको छ । उक्त घोरेटो बाटो निर्माणका लागि व्याँस गाउँपालिकाले चालु आर्थिक बर्षमा ६ लाख रुपैँया बजेट विनियोजन गरेको छ । व्याँस गाउँपालिका वडा नम्बर १ का मनविरसिह ऐतवाल र दौतल बोहरा सचिव रहेको उपभोक्ता समिति गठन गरी गत असोज २९ गतेबाट बाटो निर्माण कार्य समेत सुरु भइसकेको व्याँस गाउँपालिका एकका वडा अध्यक्ष अशोक बोहराले जानकारी दिनुभयो ।  
नेपालको कालापानी क्षेत्र भारतले मिचेको र त्यस क्षेत्रसम्म पुग्न नेपाल तर्फ बाटोघाँटो समेत नहुँदा विभिन्न समस्या भईरहेकाले कालापानी क्षेत्रसम्म पुग्ने बाटो निर्माणका लागि गाउँपालिकाले पहल गरेको व्याँस गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनु भयो । प्राकृतिक सुन्दरता हिमाली क्षेत्र र विभिन्न पर्वतहरुको अवलोकन गर्ने लगायतको महत्व भएकाले कालापानी सम्मको बाटो सञ्चालनमा ल्याउन गाउँपालीका तम्सीएको पनि बुढाथोकीले जानकारी दिनु भएको छ । 
हाल व्याँस गाउँपालिकाको वडा नम्बर एकमा जान समेत भारतीय भुमि प्रयोग गर्नु पर्ने स्थिति रहेको छ । भारतीय भुमिबाट कालापानी, लिपुलेक तथा ताक्लाकोटको यात्रा गर्दा नेपाल भारततर्फबाट बाटो प्रयोगका लागि अनुमती माग्नु पर्ने स्थिति रहेको छ । बहुयात्रा अनुमतीको झण्झट तथा नेपाली भुमिबाटै यात्रागर्न सकेमा आन्तरिक देखि बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुग्नेछ ।