केन्द्रीय कमिटी बैठकमा सङ्घीयताबारे छलफल नै भएको छैन एमाले

१ बर्ष अघि

२0८0 बैशाख ३0 शनिबार

केन्द्रीय कमिटी बैठकमा सङ्घीयताबारे छलफल नै भएको छैन एमाले

काठमाण्डौ । नेकपा एमाले ले पार्टी केन्द्रीय कमिटी बैठकमा सङ्घीयताबारे छलफल नै नभएको दाबी गरेको छ । शनिवार आज च्यासलमा आयोजित पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सङ्घीयताबारे पुनर्विचार गर्ने कुरा सोच्न पनि नसकिने बताउनु भएको हो । 

बैठकमा सङ्घीयताको विरोधमा छलफल गरिएको भन्ने बाहिर भ्रमपूर्ण हल्ला चलाइएको उहाँले बताउनु भयो । अध्यक्ष ओलीले त्यस्ता हल्लालाई सम्पूर्ण रुपमा खारेज गर्ने बताउनु भएको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । ओलीले बैठकमा पार्टीको आधिकारिक निर्णय मात्रै बाहिर लैजान पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन समेत दिनु भएको छ । 

ओलीले संविधान निर्माणको कुनै पनि पिल्लरहरुलाई हल्लाउने वा चलाउने पक्षमा एमाले नरहेको बताउनु भएको छ । 

रिजालले भन्नुभयो, ‘सङ्घीयता अहिले हाम्रो छलफलको विषय पनि छैन । र, सङ्घीयताको बारेमा हाम्रो पार्टीका कुनै छलफल पनि भएको छैन। कुनै साथीहरुले समूहमा उभिँदा राखिएको कुरालाई पार्टीको आधिकारिक निर्णय हो जस्तो गरी जुन ढङ्गले प्रचार गरिएको छ । यो गलत छ ।  यो पार्टीको विधिको हिसाबले पनि गलत छ । र, पार्टीको मान्यताको हिसाबले पनि गलत छ ।’

बैठकले मिसन ग्रासरुट अभियानबाट प्राप्त सुझावको आधारमा पार्टीको वार्षिक कार्ययोजना पनि तय गरेको छ । जसमा कम्युनिष्ट पार्टीहरुको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने योजना समावेश गरिएको छ ।