परासी । ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको भए, अहिले नारायणगढ बुटवल सडक खण्ड चिल्लो र हरियाली हुने थियो । बुटवलदेखि नारायणढसम्मको १ सय १४ किलोमिटर सडक दुई घण्टामा सरर पुगिने थियो । तर, पहिलोपटक थपिएको म्याद सकिँन लाग्दासम्म काम नसकिएपछि दिउँसो नै बत्ति बाल्नुपर्ने र सडकमा धुलोले हिँडिनसक्नु सास्ती छ ।
विशेष गरेर दाउन्ने खण्डको सडकमा सवारी र यात्रुले वर्षौंदेखि खेपेको सास्ती शब्दमा बयान गर्न सकिँदैन । मास्क र हेलमेट लगाउँदा पनि धुलोले श्वास लिन अप्ठ्यारो हुने र साना सवारी चिप्लिने समस्याले हैरानी बनाएको बर्दघाट(४ का सरोज लम्सालले गुनासो गरे ।
मोटरसाइकलमा हिँड्ने मानिसहरु नचिनिने अवस्था छ । सडक निर्माणले गति नलिएको र धुलोले आजित भएको भन्दै स्थानीयले आन्दोलन गरेपछि पानी ठेकेदार कम्पनीले पानी हाल्ने काम गरे पनि बस्ती नभएको स्थानमा पानी नहाल्दा समस्या छ । मुलुककै सबैभन्दा लामो राजमार्गको रुपमा चिनिने यो सडक खण्डमा यात्रा गर्न कोही खोज्दैनन् । तर, बाध्यताले अत्यावश्यक कामले यात्रा गर्दासमेत भोग्नु पर्ने सास्तीले स्थानीय आजित छन् । सडक वरपरका पसलमा धुलो पसेर सामान बिग्रने तथा पसल खोल्न नै नसकिने अवस्था छ ।
चाइना स्टेटको तर्फबाट पश्चिम सेक्टरका कन्ट्याक म्यानेजर जोयु हेयुले केही समस्या भए पनि आगामी डेढ वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । बुटवल(नारायणगढ सडक विस्तारको काम २०७८ साउन २२ गते पहिलो पटक म्याद सकिएको थियो । थप भएको म्याद २०८० साउनमा सकिँदै छ । अहिलेसम्म करिब ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ । गैंडाकोटदेखि बुटवलसम्मको ११४ किलोमिटर लामो सडकको स्तरोन्नतीका लागि चाईना कन्स्टक्सनलाई दुई खण्डमा करिब १९ अर्ब रुपैयाँको लागतमा ठेक्का चार वर्ष अघि दिइएको थियो । ईकान्तिपुर बाट