एमालेले २०८४ सालको चुनाव लक्षित गरेर वार्षिक कार्ययोजना बनाउने

१ बर्ष अघि

२0८0 बैशाख २९ शुक्रबार

एमालेले २०८४ सालको चुनाव लक्षित गरेर वार्षिक कार्ययोजना बनाउने

काठमाण्डौ – नेकपा एमालेले पार्टीको वार्षिक कार्ययोजना बनाउने भएको छ । पार्टीको चलिरहेको केन्द्रीय कमिटीको बैठकले २०८४ सालको चुनावमा पार्टीलाई पहिलो शक्ति बनाउने उद्देश्यसहित २०८० सालको वार्षिक कार्ययोजना बनाउन लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा दोस्रो दिन शुक्रवार प्रदेश कमिटीहरूसहितको आठ वटा समूहले अहिले २०८० सालको वार्षिक कार्ययोजनाका लागि सुझाव दिइरहेका छन् । त्यही सुझावको आधारमा भोलि शनिवार बिहान बोलाइएको पार्टी स्थायी समिति बैठकले वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने र त्यसलगत्तै बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने पनि उपप्रमुख रिजालले बताउनुभयो ।

बैठकमा पार्टीको वार्षिक कार्ययोजना तयार पार्नका लागि महासचिव शङ्कर पोखरेलले मार्गदर्शन पनि प्रस्तुत गर्नुभएको छ । त्यही मार्गदर्शनमा आधारित भएर सबै समूहहरूले पार्टीको वार्षिक कार्ययोजनाका लागि सुझाव दिनेछन् ।

उपप्रमुख रिजालले भन्नुभयो, ‘हामीले वार्षिक कार्ययोजनाका बारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्नका लागि सात वटा प्रदेशका सात वटा टोली तथा सम्पर्क समन्वय कमिटी र पेसागत विशेष कमिटीलाई एउटा टोली बनाएर आठ वटा समूह निर्माण गरेका छौँ । साथै पार्टीको केन्द्रको तर्फबाट महासचिव शंकर पोखरेलले आउँदो कार्ययोजनाका सन्दर्भमा केही मार्गदर्शनहरू प्रस्तुत गर्नुभएको छ । नेकपा एमालेलाई नागरिकको रोजाइको पहिलो शक्तिबाट समग्रमा पहिलो शक्तिको रूपमा रूपान्तरण गर्ने गरी २०८४ सालको चुनावलाई केन्द्रविन्दुमा राखेर पार्टी पङ्क्तिको परिचालनलाई विशेष जोड दिनेछौँ ।’

बिहीवार हिजो देखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली, विभिन्न आयोगका अध्यक्षहरू तथा प्रदेश कमिटीहरूले प्रस्तुत  गरेको मिसन ग्रासरुटु अभियानबारे विभिन्न समूह बनाएर छलफल भएको थियो । शनिवार वार्षिक कार्ययोजना पारित गर्दै अध्यक्ष ओलीको सम्बोधनसहित केन्द्रीय कमिटी बैठक सम्पन्न हुने एमालेले जनाएको छ ।