तातोपानी नाका खुले पनि छैन व्यावसायिक चहलपहल

१ बर्ष अघि

२0८0 बैशाख २९ शुक्रबार

तातोपानी नाका खुले पनि छैन व्यावसायिक चहलपहल

सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका वडा नम्बर २ स्थित चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट एक साताअघि नेपाली सामग्री बोकेका तीन कन्टेनर पठाउँदै निर्यात खुलाइयो । सो दिनको तामझामले सीमाक्षेत्रमा चलहपहल बढ्ने आशमा व्यवसायी र जनप्रतिनिधि उत्साहित भए ।

 

तर उत्साह क्रमिक रुपमा मर्न थालेको व्यवसायी बताउँछन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधि केसीकाअनुसार त्यस दिन बाहेक नेपालबाट केही पनि निर्यात हुन सकेको छैन । वैशाख १८ मा निर्यात खोलिएलगत्तै चीनको मागअनुरुप सिगात्सेमा लैजान तयार पारिएका भाँडाकुडा, हस्तकलाका सामान बोकेका तीन कन्टेनर समेत तातोपानी सुक्खा बन्दरगाहमा अहिले थन्किएका छन् । ‘निर्यात त ठप्प छ, त्यतिबेला नै तयार पारिएका सामाग्रीको फारम भरेको पनि एक साता भयो, निर्यात खुल्नुको सट्टा उल्टै आयात भइरहेका कन्टेनर पनि दिनहुँ घट्दो क्रममा देखिन्छन्’ प्रमुख केसीले भने ।

यसअघि दैनिक १० देखि १५ कन्टेनर सामान भित्रिएकोमा आहिले अनेक बहानामा घटेर ६ कन्टेनर मात्रै तातोपानी सुक्खा बन्दरगाहमा भित्रिन थालेका छन् । एक चिनियाँ कन्टेनरको सामान बराबर दुई नेपाली कन्टेनरमा लोड हुने गर्छ । २०७२ को भूकम्पअघि तातोपानीबाट हस्तकला, वनस्पति, जडीबुटी, चाउचाउजस्ता १८२ प्रकारका सामग्री चीनको खासा, सिगात्से र ल्हासा बजारमा दैनिक निर्यात हुने गर्दथ्यो । भूकम्पको चार वर्षपछि एकतर्फी आयातको रुपमा मात्रै खुलाइएको तातोपानीबाट सुरुवातमा त्यहीं तीन कन्टेनर सामाग्री मात्रै निर्यात भएको सिल्क ग्रुपका व्यवसायी बिजय शेर्पाले बताए ।

  

‘चिनियाँ पार्टीलाई तयार गरिएका यी सामान तत्काल चाहिएको छैन्, तत्कालै आवश्यक पनि होइन भनेर रोकेको छ, यी सामान एक सातापछि पठाउने कुरा छ,’ शेर्पाले भने । सिल्क ग्रुपले १९ लाख ६० हजार रुपैयाँ बराबरका यी सामान चीनका व्यापारीले मगाएपछि निर्यातको लागि कन्टेनरमा लैजान राखेका थिए । १५ चैतमा ल्हासामा सम्पन्न भएको दुवै मुलुकका प्रतिनिधि सम्मिलित संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा संचालन गर्ने सहमति भएको थियो । वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमतिअनुरुप वैशाख १८ मा निर्यात सुरु भयो ।


केरुङ पूर्ण रुपमा खुलिरहँदा तातोपानीबाट निर्यात ठप्प र आयात समेत साँघुरिएपछि व्यवसायी निरास भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताए । राजधानी काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किलोमिटर र रसुवागढी नाकाबाट १ सय ६४ किलोमिटर दूरीमा पर्छ, केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरी पर्छ । ‘नजिक दूरी भए पनि चीनले यो नाकालाई विभिन्न बहानामा टाढाको व्यवहार देखाएर खुम्चाएको छ, हामी सरकार पक्षलाई ज्ञापनपत्र बुझाएर हैरान भइसकेका छौं’ बस्नेतले भने । उनकाअनुसार चीनको जुनसुकै बजार या कम्पनीबाट झिकाइएका सामाग्री भएपनि खासाबाट तातोपानी आइपुग्न कम्तिमा १२ देखि बढीमा १५ दिन लाग्छ ।

 

 

चिनियाँ मापदण्डले आयात घट्यो

स्याउ, लसुन, ऊन, रोल कपडा, जलविद्युत् आयोजनाका पाइपजस्ता ठूला भारका सामग्री तातोपानी नाकाबाट ल्याइने गरेको थियो । भन्सार यार्डमा क्यु सिस्टममा ६ सयभन्दा बढी मजदुर सामान लोड९अनलोड गर्छन् । यस आर्थिक वर्षमा चार अर्ब ६२ करोड भन्सार राजस्व संकलनको लक्ष्य लिइएकोमा आहिलेसम्म दुई अर्ब २० करोड उठेको छ ।

आहिले चीनले ‘ट्रेड च्यानल’मा सामाग्री पठाएकाले झन्झटिलो भएको स्थानीय व्यवसायी दोर्जे लामाले बताए । ‘आहिले आउने कन्टेनरमा रड, स्याउ र लसुनजस्ता सामाग्री छन्, यी सामान पनि चीनले ‘ट्रेड च्यानल’मार्फत पठाउन थालेको छ, जसले गर्दा सम्पूर्ण सामग्री झारेर हेर्ने प्रक्रिया लामो हुन्छ । एक कन्टेनर सामग्री आउन एक महिनासम्म लाग्नेछ,’ उनले भने ।

वैशाख १८ यता त्यही प्रक्रिया लागू भएपछि आयात क्रमशः घट्न थालेको उनको भनाइ छ । निर्यात हुने आसमा बसिरहेका स्थानीय र व्यवसायी आयात न्यून हुने अवस्था देखेपछि निरास भएको भोटेकोशी गाउँपालिका २ तातोपानीका अध्यक्ष कुमार श्रेष्ठले बताए । ‘नाका खोल्नुको बदला उल्टै बन्द भएपछि स्थानीय र हामी सबै दिक्क छौं, चीनले तातोपानीलाई प्राथामिकतामा राखेको देखिएन्’ उनले दुखेसो गरे । नाका बन्द भएयता युवा विदेसिएपछि सीमा क्षेत्रका गाउँ नै रित्तिने भयावह अवस्था रहेको उनले बताए ।

तातोपानी क्षेत्रमा निर्भर रहेका सिल्क, रेवाङ, राइजिङ स्टारजस्ता विभिन्न कम्पनीका व्यवसायी र मजदुर पनि क्रमशः केरुङ सर्न थालेका छन् ।