भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो प्रधानमन्त्री प्रचण्ड

१ बर्ष अघि

२0८0 बैशाख २६ मंगलवार

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो  प्रधानमन्त्री प्रचण्ड

काभ्रेपलाञ्चोक – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज मङ्गलवार शिलान्यास गर्दै भ्रष्टाचार नियन्त्रणका लागि आफू र पार्टीलाई जनयुद्धको जस्तै साथ चाहिएको बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिविना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने बताउनुभयो । ‘यसका लागि हिजोका दिनमा तपाईँहरूले दिएको साथ आज पनि चाहिएको छ । यसका लागि म तपाईँहरूसँग सहयोगको अपिल गर्न चाहन्छु ।’

उहाँले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्त्व दिएको बताउनुभयो । ‘अन्यायमा परेकालाई न्याय, समानता र अधिकार चाहिन्छ । सामाजिक न्याय भनेको त्यही हो’, प्रधानमन्त्रीले भन्नुभयो, ‘देशमा विसङ्गति, विकृति र भ्रष्टाचारले विकराल रूप लिएको छ । जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली नागरिकले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

उहाँले नागरिक सबैको साथ र सहयोगसहितको प्रतिबद्धता भए अबका पाँच वर्षमा एउटा ुरेकर्डु बनाउने सकिने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले लोडशेडिङको युगबाट बिजुली बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा बिजुली बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताउनुभयो । 

‘जुन–जुन प्रदेशलाई हिजोका दिनमा पछाडि पारिएको थियो, मैले तिनै प्रदेशमा विकास निर्माण गति दिन बढी जोड गरेको छु । म प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु’, उहाँले भन्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले काठमाण्डौ नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘हिजो राज्यले काठमाण्डौ नजिकै भएर पनि यहाँका नागरिकलाई विकासबाट वञ्चित गरायो’, उहाँले भन्नुभयो, ‘अबका पाँच वर्षमा हुने विकास निर्माणले पर्यटक ओइरिने छन् ।’ 

तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार, असुविधा र विभेद  र अन्यायविरुद्ध काभ्रेका नागरिक क्रान्तिमा होमिएको उल्लेख गर्दै उहाँले महाभारत र खानीखोलाजस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दो छिटो विकास र सुविधा पाउने बताउनुभयो ।