टोपबहादुर रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने एमाले सचिवालय बैठकको निर्णय

१ बर्ष अघि

२0८0 बैशाख २६ मंगलवार

टोपबहादुर रायमाझीले अनुसन्धानलाई सघाउनुपर्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाण्डौ – नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका सचिव टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।

मङ्गलवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले यो निर्णय गरेको हो । सचिव रायमाझीको नाम पनि यो प्रकरणमा आएकाले उहाँले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको काममा सघाउनुपर्ने निर्णय गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पक्राउ पुर्जी जारी गरिएका एमाले सचिव रायमाझी फरार रहनुभएको छ । तर अनुसन्धानको प्रक्रियालाई उहाँले सघाउनुपर्ने पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

‘नेकपा एमाले कानुनको शासनमा विश्वास गर्ने पार्टी हो । खासगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा हाम्रो कमरेड टोपबहादुर रायमाझीको नाम आएको छ । यो कानुनको शासन, विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक, कानुनपूर्वक अनुसन्धानको प्रक्रियालाई सघाउनुपर्ने हाम्रो निर्णय छ ।’ 

यसैगरी बैठकले यही जैशाख २८ गतेदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने १० वटा एजेन्डा पनि तय गरेको छ । जसअनुसार भदौ १० र ११ गते सम्पन्न केन्द्रीय कमिटी बैठकयताको राजनीतिक घटनाक्रमसहितको राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुहुनेछ ।

त्यसैगरी ुमिसन ग्रासरुटु अभियानको समीक्षा गरी पार्टी केन्द्रले र प्रदेश कमिटीहरूले वार्षिक कार्ययोजना बनाउनेछ । अहिलेसम्म केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय पनि बैठकले अनुमोदन गर्ने एजेन्डा तय गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।

बैठकमा नवप्रवेशीहरूको व्यवस्थापन गर्ने विषयमा पनि छलफल हुने एजेन्डा तय गरिएको छ । समसाययिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने र अध्यक्ष ओलीको मन्तव्यसहित बैठक समापन गर्ने एजेन्डा एमालेले तय गरेको छ ।