सुन्सेरामा सशस्त्रको बीओपी स्थापना

१ बर्ष अघि

२0८0 बैशाख २५ सोमबार

सुन्सेरामा सशस्त्रको बीओपी स्थापना

दार्चुला। जिल्लाको व्याँस गाउँपालिका–४ सुन्सेरामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बीओपी स्थापना गरिएको छ। भारतसँग सीमा जोडिएको वडा नं. ४ मा सोमबार एक कार्यक्रमकाबीच बीओपीको उद्घाटन गरिएको हो।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, नं. ७  बैद्यनाथ अत्तरियाका सहायक बाहिनीपति एसएसपी किरण ढुंगाना र प्रमुख जिल्ला अधिकारी किरण जोशीले संयुक्त रुपमा बीओपीको उद्घाटन गरेका छन्।

बीओपी स्थापनाले पालिकामा शान्तिसुरक्षा कायम हुने विश्वास लिइएको छ। भारतसँग जोडिएको सीमामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुनुका पुलको सुरक्षा हुने गाउँपालिकाका अध्यक्ष मगल सिह धामीले बताउनु भयो 
सुन्सेरा बीओपीले महाकाली नदीमाथि रहेका ४ वटा झोलुंगे पुलको पनि सुरक्षा गर्ने छ। सुन्सेराबाट नजिकको पुलको दूरी करिब ४५ मिनेट रहेको छ।


सशस्त्र प्रहरी बलको नं. ४४ गण दार्चुलाका प्रमुख एसपी डम्बर विष्टका अनुसार लगत्तै चीन सीमा नजिक तिंकरमा पनि बीओपी राख्ने तयारी छ। व्याँस गाउँपालिका–१ तिंकरको छ्यालेकमा स्थापना हुने गरी बीओपी राख्न सरकारले स्वीकृति दिइसकेको छ।

‘पुरानो भन्सार र नेपाल प्रहरीको सीमा चौकी रहेकै स्थान नजिक बीओपी राख्नका लागि भवन पनि निर्माण भइसकेको छ,’ एसपी विष्टले भने, ‘बीओपी राख्न हेलिकोप्टर चाहिने भएकाले समय लागेको छ, लगत्तै त्यहाँ स्थापना गर्ने गरी तयारी भइरहेको छ।’

अहिले वडा नं.१ कै छाङरुमा सशस्त्र प्रहरीको ५० नं. गुल्म रहेको छ। सशस्त्र प्रहरीका अनुसार थप गरिएको सुन्सेरासहित जिल्लाभर ५ वटा बीओपी स्थापना भइसकेका छन्। लेकम गाउँपालिकाको वडा नम्बर ३ लाली, मालिकार्जन गाउँपालिकाको वडा नम्बर ७ जौलजिबी, महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु, र व्याँस गाउँपालिकाको वडा नम्बर २ दुम्लिङमा यसअघि नै बीओपी स्थापना भएका थिए।