हिमपहिरोमा बेपत्ता भएकाको खोजी कार्य जारी, तीनजनाको शव आफन्तलाई बुझाइयो

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

हिमपहिरोमा बेपत्ता भएकाको खोजी कार्य जारी, तीनजनाको शव आफन्तलाई बुझाइयो

दार्चुला –दार्चुला जिल्लाको व्याँस गाउँपालिका १ भोलममा हिमपहिरोमा परेर मृत्यु भएका तीनजनाको शव आज आफन्तहरुलाई बुझाइएको छ । 

दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिका २ बुडरकी ४५ वर्षीय नक्की डोमा थापाको शव पोष्टमार्टमपछि आफन्तहरुलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

गत मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएका उनीहरु बुधबार मृत फेला परेका थिए । तीनदिनपछि मात्रै भारतीय बाटो भएर उनीहरुको शव शुक्रबार साँझ खलंगा पुर्याइएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मृतकको शव आफन्तहरुलाई बुझाइएको हो । 

हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अझै पनि अज्ञात रहेको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । आजदेखि मौसममा केही सुधार भएकाले खोजीकार्यमा सहज भएको बताइएको छ । 

यार्सा गुम्बा संकलनका लागि भोलममा पुगेका १२ जना मध्ये ५ जना गएको मंगलबार हिमपहिरोमा फसेका थिए । ७ जनाले भने भागेर ज्यान जोगाएका थिए । भागेर ज्यान जोगाएका ७ जनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।