चिनियाँहरूद्वारा लुम्बिनीमाथि अतिक्रमण, मुख्य मन्दिरमै कुरुप संरचना बनाएपछि विरोध

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

चिनियाँहरूद्वारा लुम्बिनीमाथि अतिक्रमण, मुख्य मन्दिरमै कुरुप संरचना बनाएपछि विरोध

काठमाडौं । चिनियाँहरूले बौद्धधर्मालम्बीहरूको पवित्रस्थल मायादेवी मन्दिरकै परिसरमा फलामका भव्य संरचना बनाएर लुम्बिनीको दृष्यलाई कुरुप बनाएको छ ।

चीनले नेपालका विभिन्न स्थाका साथै धार्मिक संरचनाहरूमाथि अतिक्रमण गरेको आरोप लागिरहेका बेला मायादेवी मन्दिरको परिसरमा फलामको संरचना बनाएपछि चिन्ताको विषय बनेको छ । बौद्धधर्मालम्बीहरूले चिनियाँहरूले फलामका ठूला डण्डीहरू राखेर स्टेजका साथै विभिन्न संरचना बनाएपछि विरोध भएको छ । भगवान गौतम बुद्धले नुहाएको पोखरीमा पनि चिनियाँहरूले विभिन्न बस्तु राखेर कुरुप बनाएको छ ।

बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषले विभिन्न कार्यक्रमको तयारी गरिरहेको छ । तर, हिन्दुहरूको समेत आस्था रहेको लुम्बिनीको मायादेवीको मन्दिर परिसरमा संरचना बनाएपछि विरोध भएको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराज शाक्यले चिनियाँहरूले वैशाख पूर्णिमाका दिन अर्थात् बिहीबार राति ८ बजेसम्मका लागि संरचना बनाएको बताए । उनले भने, ‘ठूलो संरचना होइन । स्टेज बनाएको छ ।’

मायादेवीको मुख्य मन्दिर परिसरमा चिनियाँहरूलाई फलामको संरचना बनाएर लुम्बिनीलाई कुरुप बनाउने अधिकार कसले दियो भन्ने प्रश्नको जिज्ञासामा सदस्य सचिव शाक्यले भने, ‘कुरुप बनेको छैन । सानो स्टेज मात्रै बनाएको हो । चिनियाँ सरकारले अनुरोध गरेपछि अनुमति दिएका छौँ ।’

चीनले लुम्बिनीमाथि आफ्नो आँखा लगाएको छ । चीनले नेपालमा पर्यटक वा पर्यटन क्षेत्रमा सहयोग गर्नेभन्दा पनि नेपाली धार्मिक संरचनामाथि अतिक्रमण गरेर धार्मिक संहिष्णुता बिथोल्न खोजेको आरोप लागेको छ ।

चिनियाँहरू मात्रै होइन अनुशासनमा बसेर आफ्ना कार्यक्रम गर्न पाउँछन् । तर, मुख्य मन्दिर परिसरमा कुरुप संरचना बनाएर लुम्बिनीको आकर्षण विगार्ने अधिकार चिनियाँहरूलाई छैन । चिनियाँहरूलाई यो अनुमति दिनेहरूलाई कारबाही गर्न माग उठेको छ ।