मानव तस्करी रोक्न नेपाल भारतको साझा प्रयासमा जोड

१ बर्ष अघि

२0८0 बैशाख २३ शनिबार

मानव तस्करी रोक्न नेपाल भारतको साझा प्रयासमा जोड

नयाँदिल्ली — नेपालबाट भारतमा तथा भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करी भइरहेका छन् । प्रहरी वा संघ संस्थाले उद्धार गर्दा सीमित घटना सार्वजनिक पनि हुन्छन् । उद्धार गरिएका भन्दा धेरै ठूलो संख्यामा नाबालिग तथा युवा युवतीको अवैध तस्करी निरन्तर भइरहेका छन् । 


नेपाल र भारत दुवै देशका सुरक्षा निकायसहितका सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरूका लागि तस्करी नियन्त्रणका सवाल धेरै ठूलो चुनौती बन्न पुगेको छ । दिल्लीमा शुक्रबार आयोजित एक कार्यक्रममा दुवै देशका सरोकारवालाले तस्करी नियन्त्रणका लागि साझा र संयुक्त प्रयासको आवश्यकतामाथि जोड दिएका छन् ।


बढ्दो मानव तस्करी तथा त्यसको नियन्त्रणका सवालमा ‘माइती इन्डिया’ संस्थाले आयोजना गरेको कार्यक्रममा भारतका राष्ट्रिय महिला आयोगका अध्यक्ष रेखा शर्माले सन् २०१५ को भूकम्पपछि बढेको तस्करीलाई कोभिड महामारीपछिको स्थितिले झन बढाएको उल्लेख गरिन् ।

गरिबी तथा अशिक्षाका कारण कतिपय अवस्थामा परिवारकै सदस्यले पनि आफ्ना बालबालिकालाई पैसाको लोभमा दलाललाई सुम्पिने गरेको पाइएको उनको भनाइ थियो । उनले तस्करी हुने स्रोत अर्थात दूरदराजको गाउँमा सरकारी एजेन्सी तथा संघ संस्थाको सक्रियता आवश्यक रहेको बताइन् । ‘तस्करहरूका लागि नेपाल धेरै ठूलो स्रोत बन्न पुगेको देखिन्छ, तथ्यांकहरूले पनि त्यो देखाएको छ,’ उनले भनिन् ‘त्यही भएर जहाँबाट बालबालिका, युवा, युवतीलाई लोभ्याउने प्रयास हुन्छ, त्यहीँ काम हुन जरुरी छ ।’

भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले गरिबी र अशिक्षा तस्करीको मुख्य जड रहेकाले त्यस क्षेत्रमा नेपाल सरकारले काम गरिरहेको बताए । तर, त्यसमा समय लाग्ने भएकाले तत्काल नियन्त्रणका दिशामा दुवैतिरका सरकारी गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गरे ।


दिल्ली प्रहरीका संयुक्त कमिश्नर छाया शर्माले स्रोतमै गरिएको विभिन्न प्रकारका जागरण तथा उपायहरूले भारतको झारखण्ड प्रदेशबाट विगतमा हुँदै गएको अवैध मानव तस्करी अहिले न्यून हुन पुगेको उदाहरण दिँदै नेपालले पनि त्यस्ता उपायहरू अपनाउनुपर्ने सुझाव दिइन् ।

‘झारखण्डमा प्रहरी तथा स्थानीय सरकारले समुदाय लेभलमा उदाहरणीय उपाय अपनाएका छन्, रोजगारीका लागि को, कहाँ र कोसँग जाँदैछ त्यसको वास्तविक रेकर्ड राख्न थालेपछि तस्करीमा कमी आएको पाइएको छ,’ उनले भनिन्, ‘नेपालमा पनि तस्करीको स्रोतमा काम गर्न आवश्यक छ ।’ दुई देशबीचको १८ सय किलोमिटरको खुला सिमाना र निर्वाध आवतजावतको मौलिकतालाई ध्यानमा राखेर सुरक्षाकर्मीले अपराध नियन्त्रणको काम गर्नुपरेको बताइन् । उनले दुवै देशका सरकारी तथा गैरसरकारी एजेन्सीहरूले संयुक्त प्रयास गरेर तस्करको कामलाई बढी से बढी अप्ठ्यारो पार्दै लानुपर्ने उल्लेख गरिन् ।

सीमा सुरक्षा बल९एसएसबी०का डीआईजी सुरेश सुब्रमण्यमले मानव तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा दुवै तर्फबाट ‘इन्टेलिजेन्स’ मा आधारित सूचना आदानप्रदान गरेर संयुक्त अपरेसन आवश्यक रहेको बताए । नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले काठमाडौं–दिल्ली हुँदै विदेशसम्म तस्करहरूको सक्रिय नेटवर्क रहेकाले त्यसलाई चिर्न दुवैतर्फ सुरक्षा निकायबीच सूचना आदानप्रदानको संयन्त्र आवश्यक रहेको बताए ।

कार्यक्रममा साइबर अपराध मामिलाका जानकार जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले डिजिटल दुनियाँमा अपराधीले स्रोतमा नपुगिकनै काम गरिरहेको बताए । डिजिटल प्लेटफर्मको दुरुपयोग गरेर अपराधीहरूले राम्रो भविष्यको लोभ देखाएर युवा युवतीलाई लोभ्याउने गरेको भन्दै अपराधीहरुले अपनाएको तरीकलाई त्यसै अनुसार काट्ने कोसिसको आवश्यकतामा जोड दिए ।

माइती इन्डियाका अध्यक्ष बालकृष्ण पाण्डेले मानव तस्करी रोक्नलाई धेरै ठूलो स्केलमा काम गर्नुपर्ने अवस्था रहेको भन्दै त्यसका लागि सबैको साझा प्रयास आवश्यक रहेको बताए । कार्यक्रममा समाज कल्याण परिषद्‍का सदस्य सचिव मनोज भट्ट, दिल्लीमा सक्रिय नेपाली र भारतीय संघ संस्थाका पदाधिकारीहरुले मानव तस्करी नियन्त्रण धेरै ठूलो चुनौती बन्दै गएकाले दुई देशको सरकर तहमा पनि साझा कार्यविधि निर्माण तथा संयन्त्र बनाउने दिशामा सम्झौता हुनुपर्ने सुझाएका थिए । कान्तिपुर बाट