हिम पहिरोमा परेर मृत्यु भएकाको शव भारतीय बाटो हुँदै खलंगा ल्याइँदै

१ बर्ष अघि

२0८0 बैशाख २१ बिहीबार

हिम पहिरोमा परेर मृत्यु भएकाको शव भारतीय बाटो हुँदै खलंगा ल्याइँदै

दार्चुला –दार्चुलामा हिमपहिरोमा परेर मृत्यु भएका तीन जनाको शव सदरमुकाम खलंगा ल्याउन थालिएको छ । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ को भोलुम डाँडामा गएको मंगलबार हिमपहिरोमा परेर ज्यान गुमाएका तीन जनाको शव भारतीय भूमि हुँदै सदरमुकाम ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । 

हिमपहिरोमा परेर बेपत्ता भएका मध्ये तीन जनाको शव बुधबार फेला परेको थियो । बुधबार फेला परेका तीनै शवको सनाखत भइसकेको छ । 

भिरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको हो । कमला र प्रवीण आमा–छोरा हुन् । 

हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अज्ञात छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए । 

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । मंगलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए । भागेर ज्यान जोगाएका ७ जनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।