भारतबाट नेपालसम्म पाइपलाइनबाट पेट्रोलको आपूर्ति आगामी माघदेखि सुरु हुने

१ बर्ष अघि

२0८0 बैशाख १८ सोमबार

भारतबाट नेपालसम्म पाइपलाइनबाट पेट्रोलको आपूर्ति आगामी माघदेखि सुरु हुने

नेपालमा पाइपलाइनमार्फत भारतबाट पेट्रोल आयात आगामी माघबाट सुरु हुने भएको छ। मोतीहारी–अमलेखगञ्ज ७०.२ किलोमिटर पाइपालाइन निर्माणको काम भइरहेको छ।

पूर्वनिर्धारित योजनाअनुसार काम भइरहे पाइपलाइनबाट पेट्रोल आयात आगामी जनवरीदेखि सुरु हुने नेपाल आयल निगमको अमलेखगन्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले बताए।

‘हाम्रो काम तीब्र गतिमा भइरहेको छ,’ उनले भने, ‘कुनै बाधा भएन भने आगामी माघबाट पेट्रोल पनि पाइपलाइनमार्फत आयात गरिन्छ।’

उनका अनुसार अहिले कन्ट्रोल बिल्डिङ, गार्ड रुम तथा एस एण्ड डी रुमको ग्राउन्ड फ्लोरसम्मको काम सम्पन्न भएको छ। यस्तै, फायर वाटर ट्यांकहरुको फाउन्डेसनको काम पनि भइसकेको छ।
यसैगरी, मास स्टोरेज ट्यांकको फाउन्डेसन निर्माण गर्ने कार्य भइरहेको उपाध्यायले जानकारी दिए। भारत र नेपालबीचको यो साझेदारीले भूपरिवेष्ठित मुलुकमा पेट्रोलको मूल्य चारैतिरबाट घट्ने अपेक्षा गरिएको छ। उनका अनुसार पेट्रोल ढुवानी खर्चमा केही कमी आउन सक्छ।

हालसम्म नेपालमा पाइपलाइनबाट डिजेल मात्रै आपूर्ति हुँदै आएको थियो। आपूर्ति सुरु भएपछि नेपालमा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको थियो। यसैगरी, उपाध्यायका अनुसार पेट्रोल पनि पाइपलाइनबाट आयात भएपछि पेट्रोलको मूल्यमा कमी आउनेछ।

बुधबार उक्त पाइपलाइनको कामका बारेमा बुझ्न मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल गएका थिए। उनले डिपो तथा हाल संचालनमा रहेको पाइपलाइनको कन्ट्रोल रुम, पाइपलाइन दोस्रो चरणको निर्माणस्थलको अवलोकन गरेको उपाध्याय बताउँछन्।

मन्त्री रिजालले आफूले निगमका हितका लागि सक्दो सहयोग गर्ने बताएका थिए। दोस्रो चरणको पाइपलाइनको काम जतिसक्दो चाँडो सम्पन्न गर्न पनि उनले निर्देशन दिएको उपाध्याय बताउँछन्।

दोस्रो चरणको पाइपलाइनका लागि इन्डियन आयल कर्पोरेसन र निगमले संयुक्त २ अर्ब १४ करोड लगानीमा निर्माण गरिरहेको छ।