धनगढीमा भोलिदेखि यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

१ बर्ष अघि

२0८0 बैशाख ९ शनिबार

धनगढीमा भोलिदेखि यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

कैलाली –कैलालीको धनगढीमा भोलीदेखि १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुदैंछ । सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा सातै प्रदेशको सहभागिता रहेको  १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको  सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको सबै तयारी पूरा भएको प्रादेशिक क्रिकेट संघका अध्यक्ष हरि रेग्मीले बताए । प्रतियोगिताको सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले भोली धनगढीको फाप्ला क्रिकेट मैदानमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्ने भएका छन् । सार्वजनिक खेल तालिका अनुसार प्रतियोगितामा सहभागी सात प्रदेशलाई दुई समुहमा विभाजन गरिएको  छ । समुह ए मा सुदुरपश्चिम र कर्णाली प्रदेशसँगै मधेश प्रदेश तथा लुम्बिनी प्रदेश रहेका छन् ।  समुह बी मा बागमती प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेश रहेका छन् । समुहको बिजेता र उपविजेता सेमिफाईनल पुग्नेछन् । 

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।  नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिताको आयोजना गरेको हो । 

एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ । सोही प्रतियोगितामा नेपाली टोली पनि सहभागी हुने नेपाल क्रिकेट संघले जनाएको छ । यसै प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर त्यसबाट उत्कृष्ट १४ जनालाई १६ बर्ष मुनिको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टीम बनाईने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।