काठमाडौं । यही वैशाख १० गते बारा २ मा हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। सम्पूर्ण मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।
केन्द्रमा खटिसकेका कर्मचारीले मतदानलाई सहज हुने गरी आवश्यक संरचना तयार पार्ने काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए। उनका अनुसार गर्भवती, अशक्त, जेष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ।
शनिबार बिहानदेखि मतपत्र पठाउन सुरु गरिने र बेलुकासम्म सबै मतदान केन्द्रमा पुर्याइसकिनेछ । निर्वाचन आचारसंहिता पालना गराउन सुरुदेखि नै कडाइ गरिए पनि छिटफुट रुपमा आचारसंहिता उल्लङ्घनका उजुरी आएको र त्यसमा आवश्यक छानबिन भइरहेको मुख्य निर्वाचन अधिकृत उपाध्यायको भनाइ छ।
बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्रमा मतगणनास्थल तय गरिएको र मतगणनास्थलमा आवश्यक तयारी भइरहेको जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार बारा( २ मा एक हजार ६ सय ८८ नेपाल प्रहरी, ६ सय पाँच सशस्त्र प्रहरी र तीन सय नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको छ। कसैले मतपेटिका चलाउन र धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्न सक्ने गरी सुरक्षाकर्मीलाई निर्देशन दिइएको प्रजिअ सापकोटाले बताए।
निर्वाचनका समयमा जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशसान कार्यालयबाट पास लिएको भए पनि त्यसको दुरुपयोग भएको पाइएमा कानुन बमोजिम त्यस्तालाई कारबाहीसमेत गरिने प्रजिअ सापकोटाको भनाइ छ।
सो निर्वाचन क्षेत्रका ८२ मतदान स्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएको छ। त्यसमध्ये ६५ मतदानस्थल अतिसंवेदनशील र १७ सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निर्वाचनलाई दृष्टिगत गरी शुक्रबारदेखि तीन दिन भारतीय सीमा नाकामा आवतजावत बन्द गरिएको छ। वैशाख १० गते राति १२ बजे भारतीय सिमाना बन्द रहने प्रजिअ सापकोटाले बताए।
महागढी नगरपालिका, पचरौता नगरपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका र देवताल गाँउपालिकाका ४४ वडा समेटिएको सो निर्वाचन क्षेत्रमा ५८ हजार ९ सय ३४ पुरुष र ४६ हजार तीन सय १४ महिला गरी कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए। सो क्षेत्रमा विभिन्न दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी मैदानमा छन्।