३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाण्डौ महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

१ बर्ष अघि

२0८0 बैशाख ८ शुक्रबार

३ दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाण्डौ महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौ – सर्वोच्च अदालतले सिंहदरबारको फोहोर तीन दिनभित्र उठाउन काठमाण्डौ महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।

शुक्रवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सिंहरदरबारसहित राष्ट्रपतिको कार्यालय शीतल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाएर विसर्जन गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडैलले जानकारी दिनुभयो ।

यसअघि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सङ्घीय सरकारले आफूहरूसँग समन्वय नगरेको भन्दै गएको चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिनुभएको थियो । मेयरको यो निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाण्डौ महानगरपालिकासहितलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

सर्वोच्च अदालतले फोहोरमैला व्यवस्थापन ऐन २०६८ र नेपालको संविधानमा भएको संवैधानिक प्रावधानअनुसार सरसफाइ गर्नुपर्ने अधिकार र दायित्व पालिकामा रहेको उल्लेख गरेको छ ।