बाघको आक्रमणमा बेपत्ता महिला परिनन् फेला, ढुंगा प्रहारबाट प्रहरी घाइते

१ बर्ष अघि

२0८0 बैशाख ८ शुक्रबार

बाघको आक्रमणमा बेपत्ता महिला परिनन् फेला, ढुंगा प्रहारबाट प्रहरी घाइते

कञ्चनपुरः बाघको आक्रमणमा बेपत्ता बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्द अझैँ फेला परेकी छैनन्। शुक्रबार बिहान चन्दलाई बाघले आक्रमण गरेको  हो। गाउँका अरु महिला पनि घाँस काट्न खप्टिनाला क्षेत्रमा गएका थिए। तर चन्दलाई बाघले आक्रमण गरी लगेको थियो। आत्तिदै गाउँमा आएका महिलाले घटनाको बेलिबिस्तार लगाएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला सव–डिभिजन वन कार्यालय कुण्डाका कर्मचारी सो क्षेत्रमा पुगेका थिए।


उनीहरु अहिलेसम्म खोजी कार्यमै रहेको कञ्चनपुर प्रहरीले बताएको छ। बेपत्ता महिलाबारे भने कुनै जानकारी प्राप्त भएको छैन। ड्रोनमा बाघ देखिएको छ। खप्टिनालाभन्दा ४०–५० मिटर पर रुखमुनि बाघ बसेको देखिएको छ। बाघलाई नियन्त्रणमा नलिएको भन्दै स्थानीय आक्रोशित छन्।


पुनः आक्रमण गर्न सक्ने भन्दै बाघलाई नियन्त्रणमा लिन माथिल्लो निकायको अनुमति चाहिने जानकारी प्रहरी र डिभिजन वन कार्यालय कुण्डाका कर्मचारीले दिएपछि स्थानीय झनै आक्रोशित भएका छन्। भीडबाट ढुंगा प्रहार हुँदा एक जना प्रहरी घाइते भएका छन्। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायव निरीक्षक सई चन्द्र खडायत घाइते भएका हुन्। आक्रोशित स्थानीयले ढुंगा प्रहार गर्दा उनको टाउँकोमा चोट लागेको छ। घाइतेलाई उपचारका लागि बेलौरीस्थित अस्पताल लगिएको छ।