आफ्ना सांसदको घुस प्रकरणले संसद्को गरिमामा चोट पुगेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले माफी माग्यो

१ बर्ष अघि

२0७९ चैत्र २७ सोमबार

आफ्ना सांसदको घुस प्रकरणले संसद्को गरिमामा चोट पुगेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले माफी माग्यो

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँग टेलिफोनबाट दुई करोड रुपैयाँ मागेको विषयमा संसदमा माफी मागेको छ ।

आफ्नो पार्टीका सांसद श्रेष्ठको अडियो प्रकरणले संसद्कै गरिमामा र प्रतिष्ठामा आँच पुगेको भन्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले आज सोमवारको संसद् बैठकमा माफी माग्नुभएको हो । प्रमुख सचेतक परियारले यो विषयलाई पार्टीले गम्भीर रूपमा लिएको र छानबिन भइरहेको पनि बताउनुभयो ।

‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत तपाईंहरूको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौँ’, उहाँले भन्नुभयो, ‘संसद्को गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौँ । यो घटनाले विचलित हुने छैनौँ । राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’

आफूलाई मन्त्री बन्ने अफर आएको र त्यसका लागि पार्टीलाई पैसा बुझाउनुपर्ने भन्दै सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो हिजो आइतवार बाहिरिएको थियो । घटनापछि रास्वपाले श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसदबाट निलम्बन गरेर अनुसन्धान थालेको छ ।