गृहमन्त्री श्रेष्ठको प्रश्न काठमाण्डौका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन

१ बर्ष अघि

२0७९ चैत्र २७ सोमबार

गृहमन्त्री श्रेष्ठको प्रश्न  काठमाण्डौका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन

काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाण्डौ महानगरपालिकाका मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नु भएको छ ।

बिहान चितवनमा पत्रकारसँग कुराकानीका क्रममा उहाँले काठमाण्डौ मेयरले बालेन्द्र शाहले फोहर उठाउँदिनँ भन्न मिल्छ कि मिल्दैन भनेर प्रश्न गर्नु भएको हो ।

उहाँले भन्नुभयो –‘महानगरको मेयरले सिंहदरबारको फोहर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन  अझ सार्वजनिक रुपमा सामाजिक सञ्जालमामार्फत् भन्न मिल्छ कि मिल्दैन  त्यसले महानगरपालिका र स्वयम् मेयरलाई कुन ठाउँमा समाजको अगाडि प्रस्तुत गर्छ भन्ने त उहाँले नै सोच्नु पर्ने हो ।’

श्रेष्ठले यस विषयमा धेरै टीकाटिप्पणी नगर्ने पनि बताउनु भएको छ । यस्तै, उहाँले सङ्घीय सरकारले स्थानीय सरकारसँग समन्वयसमेत गरिरहेको दाबी गर्नुभयो । तर, लहडका भरमा औचित्य पुष्टि नहुने खालका काममा भने सङ्घीय सरकारले सहयोग गर्न नसक्ने उहाँको भनाइ छ । 

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सङ्घीय सरकारले सहयोग र समन्वय नगरेको बताइरहेका बेला मन्त्री श्रेष्ठको यो अभिव्यक्ति आएको हो । सङ्घीय सरकारले सहयोग नगरेको भन्दै काठमाण्डौ महानगरपालिकाले अस्तिदेखि सिंहदरबारको फोहर समेत उठाएको छैन ।