एउटै विद्यालयमा पाँच वर्ष काम गरेका शिक्षकको अन्तरविद्यालय सरुवा गर्दै दुहुँ गाउँपालिका

१ बर्ष अघि

२0७९ चैत्र १६ बिहीबार

एउटै विद्यालयमा पाँच वर्ष काम गरेका शिक्षकको अन्तरविद्यालय सरुवा गर्दै दुहुँ गाउँपालिका

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले एउटै विद्यालयमा पाँच वर्ष काम गरेका शिक्षकको अन्तरविद्यालय सरुवा गर्ने तयारी गरेको छ । अधिकासं सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको समयानुसार अनिवार्यरुपमा सरुवा नहुदा धेरै शिक्षकहरु विगत लामो समयदेखि एउटै विद्यालयमा कार्यरत रहेका छन् । यसरी सेवाको लामो अवधिसम्म एउटै विद्यालयमा रहिरहदा शिक्षकहरुमा नियमितता, शिक्षण कौसलता र पेशाप्रतिको उत्साहमा कमि आउने तथा समग्र शैक्षिक उद्धेश्य र अपेक्षित उपलब्धि प्राप्तीमा असर पर्ने देखिएकोले शिक्षा नियमावली अनुसार शिक्षक सरुवाको तयारी भइरहेको हो ।

दुहुँ गाउँपालिकाले तयार पारेको शिक्षा नियमावली २०७६ पहिलो संशोधनको नियम ५७ मा उल्लेखित गाउँपालिकाभित्र एउटै विद्यालयमा पाँच वर्ष सेवा गरेका शिक्षकको अन्तरविद्यालय सरुवा गर्ने व्यवस्था अनुसार शिक्षाको गुणस्तर सुधार, अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि शिक्षक सरुवाको तयारी भइरहेको दुहुँ गाउँपालिका शिक्षा शाखा संयोजक लोकेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।


सरुवा प्रकृयाका लागि एउटै विद्यालयमा पाँच वर्ष सेवा अवधि पुगेका दुहुँ गाउँपालिका अन्तरगत स्थायी, करार र राहत पदमा कार्यरत शिक्षकहरुबाट पालिकाभित्रको अर्को सामुदायिक विद्यालयमा सरुवाको लागि विद्यालय व्यवस्थापन समितिको निर्णयसहित चैत १४ गतेदेखि १५ दिनभित्र दुहुँ गाउँपालिकामा निवेदन पेस गर्न सार्वजनिक सूचनामार्फत आह्वान गरिएको उहाँले बताउनुभयो ।