राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्छ राष्ट्रपति पौडेल

१ बर्ष अघि

२0७९ चैत्र १३ सोमबार

राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्छ राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र नागरिकप्रतिको सेवाभावमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

काठमाण्डौको हनुमानढोका पछाडि याट्खामा पूर्वमन्त्री स्वर्गीय नविन्द्रराज जोशीको प्रतिमा अनावरण कार्यक्रममा उहाँले नागरिकसँगको निरन्तर सान्निध्यतासँगै उनीहरुका सुखदुःख बुझेर उनीहरुकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्नेमा जोड दिनुभएको हो।

राष्ट्रपति पौडेलले आम नागरिकसँग निकटतम् सम्बन्ध राख्ने र उनीहरुका सुखदुःख बुझ्ने व्यक्तित्वको रुपमा आफूले स्व।जोशीलाई चिनेको समेत बताउनुभयो । उहाँले योग्यता र इमानदारितामा बराबर सङ्गम रहेका विरलै मानिसमध्ये स्व। जोशी रहेको पनि बताउनुभयो । २०७७ साल फागुन १४ गते मस्तिष्कघात भएका जोशीको उपचारकाक्रममा २०७७ सालको चैत १३ गते निधन भएको थियो ।