सत्तामा फर्किएको नेपाली काङ्ग्रेस

१ बर्ष अघि

२0७९ चैत्र ७ मंगलवार

सत्तामा फर्किएको नेपाली काङ्ग्रेस

काठमाडौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस ८३ दिनमै सत्तापक्ष बन्न पुगेको छ। कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहित दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै कांग्रेस सत्ताबाट बाहिरिएको थियो। पुरानो गठबन्धन जोगाउन नसकेको भन्दै आफ्नै पार्टीभित्रबाट सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि कांग्रेसले पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर सहकार्यको हात बढाएको थियो। आइतबारको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षको बेन्चमा बसेको कांग्रेस १(२ दिनभित्रै संघीय सरकारमा फेरि सहभागी हुनेछ। सुदूरपश्चिमबाट प्रदेश सरकारको नेतृत्व सुरु गरेको कांग्रेस केही दिनभित्र अन्य प्रदेशमा पनि सहभागी हुने भएको छ।

सरकारको नेतृत्व सम्हालेको ८४ दिनमा दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रोपटक विश्वासको मत लिएका छन्। प्रतिनिधिसभाका दुई दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० दाहालको विपक्षमा उभिएका छन्। नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको छ । संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले सोमबार विश्वासको मत लिएका हुन्। ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १०० को २ मा लेखिएको छ।

यसअघि पुस २६ गते संविधानको धारा ७६ को ४ अनुसार विश्वासको मत लिएका दाहालको विपक्षमा दुई मत मात्र परेको थियो। कांग्रेसका साथै एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित दलहरूले दाहाललाई विश्वासको मत दिएर पनि विपक्ष बेन्चमा बसेका थिए। तर त्यतिबेला दाहाललाई समर्थन गर्दै सरकारमा सहभागी भएको एमाले र राप्रपा भने अहिले विपक्षमा उभिएका छन्। सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको थियो। प्रतिनिधिसभाको ठुलो दल कांग्रेसलाई राष्ट्रपति दिएर सहमतिका आधारमा अघि बढ्नुपर्ने प्रस्तावलाई एमालेले अस्वीकार गरेको थियो। त्यससँगै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले फागुन १० गते कांग्रेससहित दलहरूसँग मिलेर अघि बढ्ने समझदारी गरेका थिए। त्यसलाई फागुन १२ गते औपचारिकता दिएको भोलिपल्टै राप्रपा दाहाल नेतृत्वको सरकारबाट अलग भएको थियो भने एमाले दुई दिन ढिला १५ गते मात्र बाहिरिएको हो।

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार दाहालले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने थियो। सोहीअनुसार दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। एमाले संघीय सरकारबाट बाहिरिए पनि प्रदेश सरकारमा भने कायमै छ।