राजनीतिमा आरजुको सशक्त सक्रियता, महिला पनि सक्षम छन् भन्ने पुष्टि

१ बर्ष अघि

२0७९ चैत्र ७ मंगलवार

राजनीतिमा आरजुको सशक्त सक्रियता, महिला पनि सक्षम छन् भन्ने पुष्टि

काठमाडौं । नेपाली राजनीतिमा महिलाहरु पछाडि छन् । हरेक आन्दोलनमा महिला नेतृको अग्रणी भूमिका भए पनि राजनीतिक अवसर तथा पदहरुमा उपेक्षा गरिन्छ । पुरुषकै बोलाबाला भएको राजनीति नेपालमा हाबी छ । जसलाई चुनौती दिने प्रयास गरेकी छन् कांग्रेस केन्द्रीय सदस्य डा। आरजु राणा देउवाले ।

महिलाहरु समाजको एक हिस्सा र पुरुष जतिकै बराबर हुन् भन्ने मान्यता बोकेकी आरजुले पितृ सत्तालाई चुनौती दिँदै पुरुषप्रधान राजनीतिमा हस्तक्षेप बढाउँदै लगेकी छन् ।

पदीय अवसरमा पुग्न पुरुष नेताहरुको पछि लाग्नुपर्ने महिला नेतृको नियति आरजुले चिरेकी छन् । महिलाहरुले पनि नेतृत्व गर्न सक्ने छाप उनले बनाएकी छन् । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य आरजुले केन्द्रीय राजनीतिमा सशक्त सक्रियता बढाएकी छन् । पार्टीका नेता कार्यकर्ताको सुखदुखमा साथ दिने तथा महिलाहरुलाई मौका दिने अभियानको आरजुले नेतृत्व गरिरहेकी छन् । त्यतिमात्रै होइन संसदीय राजनीतिमा पनि आरजु निकै सक्रिय छिन् । हरेक दिन संसद बैठकमा उपस्थित हुने, कानुन निर्माण र जनजीविकाका सवालमा प्रत्यक्ष सहभागी हुँदै आएकी छन् ।

महिला सांसदहरुलाई हौसला दिने, नीति निर्माण सक्रिय हुन घच्घच्याउने, सक्रिय गराउने काम पनि गर्दै आएकी छन् । आरजुलाई चिन्ने महिला नेतृहरु उनको सादगीपनबाट प्रभावित छन् । सबैलाई सम्मान र स्नेहपूर्वक व्यवहार गर्ने आरजु महिला नेतृत्वको वकालत गर्छिन् । प्रदेशसभा सदस्य रक्षा महरा भन्छिन्, ‘आरजु भाउजु सरल र सहयोगी हुनुहुन्छ ।

जनताको सुखदुखमा सहयोग गर्ने उहाँको भावना प्रशंसनीय छ । हामी महिलाहरु अघि बढ्नुपर्छ । राजनीतिमा हस्तक्षेप गर्नुपर्छ । महिला नेतृत्वमा आउनुपर्छ भनेर उहाँले मोटिभेट गर्नुहुन्छ ।’ ग्रामिण महिला तथा बालबालिकाको सशक्तिकरण अभियानमासमेत सक्रिय आरजुले सामाजिक सेवालाई पनि निरन्तरता दिइरहेकी छन् ।

कोही पनि बालबालिका र महिला विभेद तथा बहिष्करमा नपरोस् भनेर आरजुले वकालत गर्दै आएकी छन् । स्वदेशमै रोजगारी र युवा सशक्तिकरणमा पनि आरजुको पहल छ । युवा विद्यार्थीलाई सक्षम र सीपयुक्त बनाउने, देश निर्माणको अभियानमा सामेल गर्न उनले वकालत गर्दै आएकी छन् । देशकै पहिलो महिला प्रधानमन्त्रीको रुपमा हेरिएकी आरजुको राजनीतिमा सशक्त हस्तक्षेपले त्यो दिन टाढा छैन भन्ने पनि संकेत गर्छ ।

देशले पहिलो महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश पाउँदा अब महिला प्रधानमन्त्रीका रुपमा आरजुलाई पाउन धेरै टाढा छैन भन्छन् कांग्रेस सांसद रामहरि खतिवडा । ‘आरजु भाउजु हरेक हिसाबले देशको नेतृत्व लिन क्यापेबल हुनुहुन्छ । त्यो दिन टाढा छैन अब, जुन दिन देशले पहिलो महिला प्रधानमन्त्रीको रुपमा आरजु भाउजुलाई पाउनेछ ।

राजनीतिमा यो हस्तक्षेप अपरिहार्य छ,’ खतिवडा भन्छन् । देश दुनियाँ भ्रमण गर्ने, समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने आरजुको विशेषता नै हो । यस वर्ष उनी छठ मनाउन तराई पुगेकी थिइन् ।

मधेश प्रदेशको राजधानी जनकपुरमा उनले छठ मात्र मनाइनन् त्यहाँ भएका महिलाका समस्या र अन्य समस्याबारे जानकारी लिइन् । समाधानका लागि सम्बन्धित निकायमा पहल गरिन् ।

आरजु चुपचाप काम गर्न रुचाउछिन् । अरुजस्तो प्रचार ज्यादा काम थोरै उनको स्वभाव हैन । जुन कुरा उनले गरेको योगदानबाट पुष्टि हुन्छ । उनले योगदान गरेको क्षेत्रका लाभाम्वित व्यक्तिहरुबाट थाहा हुन्छ । उनले आफ्नो जीवनकालमा थुप्रैलाई सहयोग गरिन् । तर कहिल्यै प्रचार गरिनन् ।

अहिले पनि यो स्वभाव कायमै छ । केन्द्रीय राजनीतिमा जबर्जस्त हस्क्षेप गर्दा पनि खासै प्रचारबाजी छैन । आरजु भन्छिन्, ‘आधा आकाश ओगट्ने महिला सधै अगाडि हुनुपर्छ । पुरुष जन्माउने आमा नै हो । त्यसैले महिलाको हरेक क्षेत्रमा सशक्त उपस्थिति हुनुपर्छ । यसका लागि म लडिरहन्छु ।’