मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

१ बर्ष अघि

२0७९ चैत्र १ बुधबार

मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

काठमाण्डौ – कांग्रेस–एमालेसहितका किसान सङ्घ–सङ्गठनहरूले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

बुधवार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासङ्घ, एमाले निकट अखिल नेपाल किसान महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठनले मलमा अनुदान कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । पत्रकार सम्मेलनमा माग तत्काल सम्बोधन गराउनका लागि दबाबस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेसहितका आन्दोलनको कार्यक्रम पनि घोषणा गरिएको छ । 

किसानहरूलाई दिइँदै आएको एकमात्रै अनुदान अविलम्ब फिर्ता गराउनका लागि चैत ३ गते शुक्रवार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, देशभरका स्थानीयस्तरमा संयुक्त किसान सङ्घर्ष समिति निर्माण गरी धर्ना, जुलुस, चक्काजामलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्ने निर्णय गरिएको अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा। प्रेम दंगालले जानकारी दिनुभयो । उहाँले किसानलाई राहत दिनका लागि सुरु गरिएको यो आन्दोलन आफूहरूको माग पूरा नभएसम्म जारी रहने चेतावनीसमेत दिनुभयो ।

यही फागुन २६ गते सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो । सरकारको त्यो निर्णयप्रति देशभरका किसान हकहितसँग सम्बन्धित सङ्घ–सङ्गठनहरूले आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गर्दै दबाबस्वरूप आन्दोलन सुरु गरेका छन् । पत्रकार सम्मेलनमा मल कारखाना स्थापना गर्ने निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पनि सरकारलाई सचेत गराइएको छ ।