सडक सञ्जालबाट टाढा रहेका दार्चुलाका तीन स्थानीय तह

५ बर्ष अघि

२0७५ कार्तिक ९ शुक्रबार

सडक सञ्जालबाट टाढा रहेका दार्चुलाका तीन स्थानीय तह

ललित सामन्त कार्तिक ९ दार्चुला । दार्चुलाका तीन स्थानीय तहहरु अझै सडक सञ्जाला जोडिएका छैनन् । विकासको पहिलो पुर्वाधारको रुपमा रहेको यातायातले ती स्थानीय तहहरुलाई जोड्न नसक्दा अन्य विकास निर्माणले पनि गती लिन सकेको छैन् । दार्चुला जिल्लाका दुई नगरपालिका र सातवटा गाउँपालिकाहरुमध्ये अझै अपिहिमाल, व्याँस र लेकम गाउँपालिकामा सडक विस्तार हुन सकेको छैन् ।  
जिल्लाको उत्तर पुर्वमा रहेको अपिहिमाल गाउँपालिका, उत्तर पश्चिम क्षेत्रमा रहेको व्याँस गाउँपालिकाको कुनै पनि वडामा सडक पुगेको छैन भने लेकम गाउँपालिकामा गतबर्ष मात्रै वडा नम्बर १ र ४ मा सडक पुगेको छ । लेकम गाउँपालिकाले गत आर्थिक बर्षमा सडक विस्तारका लागि भन्दै स्काईभेटर खरिद गरेको छ । त्यस्तै व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरासम्म दार्चुला तिङ्कर सडकको ट्रयाक खुलेको छ । 
लेकम गाउँपालिकाले चालु आर्थिक बर्षमा विभिन्न सडकहरुको डि.पी.आर. गर्न तथा सडक विस्तार गर्न पाँच करोड बजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष माधवी जोशीले बताउनु भयो ।
त्यस्तै ऐरीछाना, रिठाचौपता, धन्थला सडक खण्ड भने प्रदेश सरकारको मातहतमा सञ्चालन भईरहेको छ ।    
त्रीदेशीय सीमा क्षेत्रमा अवस्थीत व्याँस गाउँपालीकाको वडा नम्बर ४ ५ र ६ मा दार्चुला तिङ्कर सडकको ट्रयाक मात्रै खुलेको छ । तर दार्चुला तिङ्कर सडकको हाल पीपलचौरीको विजयपुर भिरमा काम चलिरहेकोले अगाडीको सडक सञ्चालन हुन सकेको छैन । त्यस्तै दार्चुलाको अपिहिमाल गाउँपालिका भौगोलिक रुपमा जिल्लाकै अप्ठेरो गाउँपालिकाको रुपमा रहेको छ । अपिहिमाल गाउँपालिका वडा नम्बर ५ को मकरीगाड सम्म सडक निर्माणधिन अवस्थामा रहेको छ  । 
जिल्लाका अन्य स्थानीय तहहरुले यातायातलाई प्राथमिकतामा राखेर धमाधम ग्रामिण सडक खनी रहेका छन् । तर जिल्लाका कुनै पनि स्थानीय तहहरुले सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै काम गर्दा त्यसले बाढी पहिरो जानुका साथै अन्य विकास निर्माणलाइ समेत प्रभावित गरिरहेको स्थानीयहरुले बताएका छन् ।