चालु आवमा दार्चुलाका ८४ परिवार मुक्तहलियाहरुले सेवा पाउने

५ बर्ष अघि

२0७५ कार्तिक ९ शुक्रबार

चालु आवमा दार्चुलाका ८४ परिवार मुक्तहलियाहरुले सेवा पाउने

सुलोचना महता, ९ कार्तिक दार्चुला । दार्चुला जिल्लामा चालु आर्थिक वर्षमा ८४ जना मुक्तहलियाहरुले सेवा पाउने भएका छन । नेपाल सरकारले वि.सं. २०६५ भ्राद २१ गतेका दिन हलियामुक्तिको घोषणा गरेपछि मुक्त हलियाहरुलाई पुर्नस्थापन गर्ने कार्यक्रमले चालु आर्थिक बर्षमा पनि निरन्तरता पाएको छ । दार्चुला जिल्लामा आर्थिक वर्ष २०७०÷०७१ देखि मुक्त हलियाहरुले नेपाल सरकारबाट सेवा सुविद्या पाउँदै आएका छन् । दार्चुला जिल्लामा हाल सम्म जम्मा ४ सय ५५ जना मुक्त हलियाहरु प्रमाणिकरण भएका छन् । जसमध्ये ४ सय ३४ जनाले परिचयपत्र लिएको र २१ जना सम्पर्क बिहिन अवस्थामा छन् । परिचयपत्र पाएका मध्ये हालसम्म ३ सय ५० जना मुक्तहलियाहरुले पुनैस्थापन कार्यक्रमबाट सेवा सुविधा पाइसकेको मालपोत कार्यालय दार्चुलाका सुचना अधिकारी  नरबहादुर ठगुन्नाले जानकारी दिनुभयो । बाँकी ८४ जनाले यो आर्थिक वर्ष भित्रमा पुर्नस्थापन कार्यक्रम अन्तरगत समावेश गरिने मालपोत कार्यालय दार्चुलाका सुचना अधिकारी ठगुन्नाले बताउनु भयो । 


चालु आर्थिक वर्ष २०७५÷०७६ मा मुक्तहलिया पुर्नस्थापन कार्यक्रमका लागि दार्चुला जिल्लामा १ करोड २६ लाख २५ हजार रुपैँयाको बजेट आएको छ । जसमा घर निर्माण गर्न ५ परिवारलाई प्रतिपरिवार ३ लाख २५ हजार रकम दिइनेछ ।  त्यस्तै ५ जनालाई प्रतिव्यक्ति २ लाखका दरले जग्गा खरिद बाफत दिइने र ८० परिवारलाई घर मर्मत वाफत १ लाख २५ हजार रुपैँया दइने भएको छ । गत असोज १९ गते जिल्ला समन्वय समितिसंग बैठक बसेर  खैरो, सेतो  रङगको परिचय पत्र घर निमार्ण, हरियो रङगको परिचय पत्र घर मर्मत र रातो रङगको परिचय पत्र जग्गा खरिद गर्ने मुक्तहलियाहरुलाई दिइने निर्णय गरेको थियो । भने सम्पर्क विहिन मुक्तहलियाहरुलाई २०७५ असोज २१ गते देखि ३५ दिन भित्र सम्पर्कमा आउन सूचना जारी गरिएको मालपोत कार्यालय दार्चुलाले जनाएको छ ।