खेल विकासमा महाकाली नगरको चासो

१ बर्ष अघि

२0७९ फाल्गुन १९ शुक्रबार

खेल विकासमा महाकाली नगरको चासो

दार्चुला । गत फागुन ७ गते सदरमुकाम खलंगास्थित गुरुगोरख दल गुल्ममा नेपाली सेनाले मैत्रीपूर्ण भलिवलको आयोजना ग¥यो । महाकाली नगर प्रमुख नरसिह चैसिर स्वयं उपस्थिति जनाउँदै नगरपालिकाको तर्फबाट दुई वटा भलिवल टिम दर्ता गराए । जसमा नगरपालिका ‘बी’ टिमले खुला भलिवल प्रतियोगिता उपाधि जित्यो ।
लगत्तै सदरमुकाम खलंगामै जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना गर्ने हिम्मत नगरपालिकाले ग¥यो । निर्वतमान नगर प्रमुख हंशराज भट्टले अुधरै निर्माण छोडेको सदरमुकाम खलंगास्थित शिवनगर खेल मैदान बनाएरै छोड्ने अठोट लिए वर्तमान नगर प्रमुख नरसिह चैसिरले । नगर प्रमुख चैसिरलाई साथ र सहयोग दिए, सदरमुकाम खलंगाका खेलाडि, निरौला परिवार र जिल्लास्थित सुरक्षा निकायले ।

खलंगामै १३ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता मैदान बनाउन बाँकी हुँदै खेल यही सञ्चालन गर्ने निर्णय भयो । खेल सञ्चालन हुनु एक हप्ता अघिबाट निर्माण कार्य सुरु भयो । रातदिनको निन्तर प्रयासबाट एकसातामै खेल सञ्चालन हुने गरि मैदान तयार भयो । नगरपालिकाको पूरै टिम खेलमैदान बनाउन राति २ बजेसम्म खट्नुपरेको अनुभव सुनाउँछन्, नगरपालिकाका सव इन्जिनियर गौरसिह ठगुन्ना । उनी भन्छन्, ‘भौतिक पूर्वाधारको कठिनाई सँगै लड्दै एक हप्ताको अथक प्रयासबाट फिल्ड निर्माण गरियो ।’

झण्डै एक सय मिटर लम्बाई र ४० देखि ६० मिटर चौडाई भएको खेलमैदान जिल्लामै तयार भयो । फिल्डको अधिकांश काम पूरा भयो । केही ठाउँमा काम बाँकी रह्यो । खेलमैदान निर्माण अझैँ राम्रो बनाउने सोच नगरपालिकाको छ ।

नगर प्रमुख चैसिर भन्छन्, छोटो समयको तयारीमा खेलमैदान निर्माण गरि प्रतियोगिता सम्पन्न भयो । ०७० सालको बाढिपछि खलंगामा मैदान अभाव थियो । अब त्यो पूरा भएको छ । ‘युवालाई खेलप्रति प्रेरित गर्न खेलमैदान आवश्यक थियो,’ नगर प्रमुख चैसिरले भने, ‘अब खेलाडीको लागि मैदान निर्माण गरेका छौ ।’ युवालाई प्रोत्साहन गर्न हामी तत्पर छौ चैसिरको भनाई छ ।

खेलमैदान निर्माणमा तत्कालीन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर ठगुन्ना आफै फिल्डमा खटिए । आफुसँगै नगरपालिकाका कर्मचारी, नगरका जनप्रतिनिनिधि, खेल क्षेत्रका प्रशिक्षक खेलाडी स्वयं मैदान निर्माणमा जुटे ।

नगरपालिकाले खलंगामा सम्पन्न भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण सह्योग ग¥यो,  खेलकुद विकास समिति अध्यक्ष मानसिह बुढाथोकी भन्छन् । नगरपालिकाले यस्तो सहयोग नगरेको भए खेल सञ्चालन गर्न निकै कठिनाई थियो । जिल्लामा खेलकुद मैदान निर्माण गर्न र खेलकुद प्रतियोगिता सम्पन्न गर्न नगर प्रमुख चैसिरको सहयोग महत्वपूर्ण छ, उनले भने ।

यी हुन् उत्कृष्ट खेलाडी

फागुन १२ गतेदेखि फागुन १८ गतेसम्म सदरमुकाम खलंगामा सञ्चालन भएको १३ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विभिन्न विधाका ६ जना खेलाडीलाई उत्कृष्ट घोषित गरिएको छ ।

प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गरेको आधारमा खेलाडी छनौट गरिएको  खेलकुद विकास समितिका कार्यालय प्रमुख श्यामराज अवस्थीले बताए । उनका अनुसार छात्रा एथलेटिक्सतर्फ तीन वटा स्वर्ण पदक दिलाउन सफल महाकाली नगरपालिकाका निसापाल उत्कृष्ट घोषित भइन् । भने छात्रतर्फ चार वटा स्वर्ण दिलाउन सफल मालिकार्जुनका बीरेन्द्र बहादुर पाल उत्कृष्ट भए ।

छात्र भलिवलततर्फ लेकम गाउँपालिकाका गणेशराम सार्की र छात्रातर्फ मार्मा गाउँपालिकाका भागरथी महता उत्कृष्ट खेलाडी घोषित भए । छात्रा कब्बडीतर्फ लेकम गाउँपालिकाका संगीता बम र छात्रतर्फ महाकाली नगरपालिकाका नविन विष्ट उत्कृष्ट खेलाडी घोषित भएका छन् ।