महाकालीले चुम्यो राष्ट्रपति कपको उपाधि

१ बर्ष अघि

२0७९ फाल्गुन १८ बिहीबार

महाकालीले चुम्यो राष्ट्रपति कपको उपाधि

दार्चुला । १३ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि महाकाली नगरपालिकाले चुमेको छ । सदरमुकाम खलंगामा बिहीबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण सहित उपाधि चुमेको हो ।  महाकाली नगरपालिकाले कुल २१ स्वर्ण, ११ रजत र १० कास्यसहित ४२ पदक जितेको छ । यस्तै प्रतियोगितामा दोस्रो भएको मालिकार्जुन गाउँपालिकाले ६ स्वर्ण, ६ रजत र ३ कास्य गरी १५ पदक जित्यो । तेस्रो भएको मार्मा गाउँपालिकाले ३ स्वर्ण, ९ रजत, २ कास्य गरी १४ पदक जितेको छ । 


नौ वटा स्थानीय तहको सहभागीता रहेको प्रतियोगितामा शैल्यशिखर नगरपालिकाले २ स्वर्ण, ४ रजत र २ कास्य गरी ८ पदक प्राप्त गरेको छ । लेकम गाउँपालिकाले ११, दुहुँ गाउँपालिकाले ५, व्याँस गाउँपालिकाले ४, नौगाड गाउँपालिकाले १८ र अपिहिमाल गाउँपालिकाले ४ पदक हात पारेको छ ।  प्रतियोगिता फागुन १२ गतेबाट सुरु भएको थियो । 

 

०७० सालको बाढिपछि सदरमुकाम खलंगामा खेलमैदान नहुँदा सदरमुकाम खलंगामा खेल सञ्चालन हुन सकेको थिएन् । पहिलो पटक नगरपालिकाले खलंगास्थित शिवनगरमा खेलमैदान निर्माण गरि प्रतियोगिता सम्पन्न गरेको महाकाली नगर प्रमुख नरसिह चैसिरले बताउनुभयो । 
उहाँले भन्नुभयो, नगरपालिकाको पूर्ण व्यवस्थापनमा जिल्लास्तरीय प्रतियोगिता सौहार्दरुपमा सम्पन्न गरेका छौँ । अब जिल्लाको खेलकुद सञ्चालनको लागि मैदान निर्माण भएको छ । अझै यसलाई व्यवस्थित गर्दै लैजाने नगर प्रमुख चैसिरको भनाई छ । 


खेलकुद प्रतियोगिताको समापन गर्र्दै जिल्ला खेलकुद विकास समिति अध्यक्ष मानसिह बुढाथोकीले प्रतियोगिता सञ्चालनमा महाकाली नगर पालिका र नगरप्रमुखको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । नगरपालिकै सहयोगमा जिल्लामा पहिलो पटक खेल सम्पन्न गरेका छौ । खेल सञ्चालनमा कुनै कमजोरी भए आगामी दिनमा सुधार गर्दै लैजाने उहाँको भनाई छ ।