विश्व बैंकको प्रमुखमा बाइडेनले प्रस्ताव गरे भारतीय मूलका बंगालाई

१ बर्ष अघि

२0७९ फाल्गुन १३ शनिबार

विश्व बैंकको प्रमुखमा बाइडेनले प्रस्ताव गरे भारतीय मूलका बंगालाई

अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्व बैंकको नयाँ प्रमुखमा भारतीय मूलका अमेरिकी नागरिक अजय बंगालाई प्रस्ताव गरेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै मास्टरकार्डका पूर्वप्रमुख कार्यकारी अधिकृत बंगालाई विश्व बैंकको नयाँ प्रमुखका रूपमा प्रस्ताव गरिएको जानकारी दिएको छ।

विश्व बैंकमा अमेरिका सबैभन्दा ठूलो सेयर होल्डर हो। त्यही भएर अमेरिकाले प्रस्ताव गरेको व्यक्ति नै प्रमुख हुने सम्भावना प्रबल हुन्छ। बंगा आगामी मेदेखि विश्व बैंकको प्रमुख बन्ने देखिएको छ।

बिबिसी हिन्दीका अनुसार भारतमा जन्मिएका बंगाले दिल्ली विश्वविद्यालयबाट ग्र्याजुएसन र आइआइएम अहमदावादबाट एमबिए गरेका हुन्। उनले नेस्ले इन्डियाबाट आफ्नो करियर सुरू गरेका थिए।

सन् २००९ मा मास्टरकार्डमा जोडिएका उनी उक्त कम्पनीका सिइओ बने।  ६३ वर्षीय बंगा पछिल्लो समय जनरल एटलान्टिक कम्पनीमा उपप्रमुख थिए। सेतोपाटी