सुदूरपश्चिम सरकार पाँच वर्ष नै टिक्छः मुख्यमन्त्री शाह

१ बर्ष अघि

२0७९ फाल्गुन ८ सोमबार

सुदूरपश्चिम सरकार पाँच वर्ष नै टिक्छः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा प्रदेश सरकार पाँच वर्ष नै निरन्तर चल्ने बताएका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्रकारसँगको भेटघाटमा उनले केही दिनमै विश्वासको मत लिने बताए।

विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको र केही दिनमा विश्वासको मत लिने  उनले बताए । सुदूरपश्चिम सरकार ५ वर्ष निरन्तर चल्ने  उनको  दाबी छ । यस्तै उनले अहिलेको अवस्थामा कुनै पनि दलले र जनताले निर्वाचनमा जान नचाहेको पनि बताए ।

निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले नचाहेका र  चुनावमा गए जनताले लखेट्ने पनि उनको  भनाई  छ । पुस २७ गते मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले कांग्रेसका शाह सुदूरपश्चिमको  मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले पनि एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्छ ।

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ। नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन्। उनीहरूलाई सरकार टिकाइराख्न नागरिक उन्मुक्ति वा माओवादीले समर्थन गर्नुपर्ने हुन्छ। त्यसैका लागि मुख्यमन्त्री शाहले दौडधुप बढाएका छन्।