अन्तर्राष्ट्रिय खेल खेल्न जान पाउनुपर्ने माग गर्दै सर्वोच्च जाने तयारीमा सन्दीप

१ बर्ष अघि

२0७९ फाल्गुन ८ सोमबार

अन्तर्राष्ट्रिय खेल खेल्न जान पाउनुपर्ने माग गर्दै सर्वोच्च जाने तयारीमा सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा पुनरावेदन गर्ने तयारी गरेका छन् ।  सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार उच्च अदालत पाटनको आदेशमा धरौटी रकम बढी भएको र विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने मागसहित सर्वोच्चमा पुरावेदन गर्न लागिएको हो ।  बलात्कार आरोपमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 


आदेशअनुसार थुनामै रहेका बेला सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेपछि उनलाई खेल जीवनबाट बाहिर बस्दा मानसिक समस्या समेत हुनसक्ने भन्दै पासपोर्ट रोक्का राख्ने, उपत्यका बाहिर जानु परे प्रहरीको अनुमति लिनुपर्ने, मिडियामा प्रतिक्रिया दिन नपाउनेसहितका सर्तमा धरौटीमा रिहा गरिएको थियो । 

२० लाख धरौटीमा रिहा भएका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ नेपाल ‘क्यान’ले राष्ट्रिय टिममा राखेर काठमाडौंमा भएको त्रिकोणत्मक सिरिजमा सहभागी गराएको थियो । 


यसपछि युएइमा हुने खेलमा पनि सहभागी हुन सन्दीपले विदेशी भूमिमा पनि खेल्न पाउनुपर्ने भन्दै सर्वोच्चमा पुरावेदन गरेका हुन् । 

उच्च अदालत पाटनले जिल्ला अदालतको थुनामै राखेर अनुसन्धान गर्ने आदेश उल्ट्याउँदै घर बस्न पाउने आदेश गरेकोमा सन्दीप त्यो फैसलाविरुद्ध पुनः सर्वोच्चमा पुनरावेदन जान लागेका हुन् । 

घिमिरेका अनुसार सम्भवतः सन्दीपको पुरावेदन बुधबार सर्वोच्चमा दर्ता हुनेछ । उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो । 

सरकारी वकिलले सन्दीपलाई थुनामै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले उच्च अदालत पाटनको आदेशकोे मिसिल झिकाउने आदेश गरेको छ । 

राष्ट्रिय क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले उनी राष्ट्रिय टिममा युएइमा हुने म्याचमा रहने छैनन् । 

तर, सर्वोच्चले सन्दीपका पक्षमा आदेश दिएमा उनी त्यहाँ गएर खेल्न पुरावेदन गएका हुन् ।