धनगढी . कृषियोग्य जमिनलाई सिँचाइ सुविधा पु¥याउने गरी सुरु भएको रानी–जमरा, कुलरिया र महाकाली सिँचाइ तेस्रो चरण राष्ट्रिय गौरवका आयोजना हुन्।
कैलाली र कञ्चनपुरको ७० हजार हेक्टरभन्दा बढी कृषियोग्य जमिन सिञ्चित गर्ने लक्ष्यसहित दशक अघि निर्माण सुरु गरिएको भए पनि लक्ष्यअनुसार अझै काम हुन सकेको छैन्। दुई आयोजनाबाट किसानलाई पुग्ने सिँचाइ सुविधाले बढाउने कृषि उत्पादकत्व, प्रदेशको खाद्य सम्प्रभुताका लागि महत्वपूर्ण आयोजना हुन्। तर आयोजना निर्माणको काममा भइरहेको ढिलासुस्तीले वर्षेनि लगानी मात्र बढ्दै गएको छ।
रानी–जमरा–कुलरिया सिँचाई आयोजनाको प्रगति अपेक्षाकृत रुपमा हुन नसकेको कार्यालयका सुचना अधिकारी दिलिपजंग रानाले बताए। ‘आयोजना निर्माण भएयता भौतिक प्रगति ४० प्रतिशत पनि पुग्न सकेको छैन्। दुई वर्ष कोरोना महामारीका कारण निर्माण कार्य अवरोध हुन पुग्यो भने कतिपय अवस्थामा निर्माण कम्पनीको लापरवाहीका कारण पनि अपेक्षित प्रगति हुन सकेको छैन्।’
कैलालीको पूर्वी क्षेत्रको परम्परागत रानी–जमरा, कुलरिया सिँचाइ प्रणालीलाई एकीकृत योजनाका रूपमा नेपाल सरकारले विश्व बैंकको सहयोगमा २०६७÷६८ देखि राष्ट्रिय गौरवका रूपमा सुरु गरेको हो। २७ अर्ब ७० करोड २४ लाख ४ हजारको लागत अनुमान गरिएको सो आयोजना २०८०÷८१ सम्म पूरा गर्ने लक्ष्य छ।
तर अहिलेसम्म १६ अर्ब ६८ करोड मात्र खर्च भएको छ। यस आयोजनाको लक्ष्य कैलाली जिल्लाको जानकी गाउँपालिका, टीकापुर र लम्की चुहा नगरपालिकाको ३८ हजार ३० सय हेक्टर कृषियोग्य जमिन वर्षैभरि सिँचाइ सेवा पु¥याउने छ। तर यही अवस्थामा काम हुन हो भने निर्माण सम्पन्न हुन अझै धेरै वर्ष लाग्ने देखिन्छ।
नेपाल सरकारले २०७३÷७४ बाट महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा स्तरोन्नति गरी अघि बढाइएको छ। ३५ अर्बको गुरुयोजना स्वीकृत गरी १० वर्षभित्रमा योजना सम्पन्न गर्ने गरी महाकाली सिँचाइ तेस्रो आयोजना कार्यान्वयनको चरणमा आएको छ। आयोजना सुरु भए पनि केही वर्ष भारतीय क्षेत्रमा पर्ने १ हजार २ सय २० मिटर नहर तथा टनकपुर ब्यारेजमा ‘हेडवर्क्स’ नबन्दा निर्माण कार्य ढिला सुरु भएको छ।
महाकाली तेस्रो नहरको कुल लम्बाइ १ सय ५२ किलोमिटर छ। कुल नहरको नेटवर्क १ हजार ३ सय ४८ मिटर छ। मूल नहरबाट निर्माण गर्नुपर्ने १ सय ७२ किलोमिटर शाखा नहर, प्रशाखा नहर १ हजार २४ किलोमिटर निर्माण गरिनेछ। महाकाली सिँचाई आयोजना र रानीजमरा कुलरिया सिँचाई आयोजनाको निर्माण अहिलेकै अवस्थामा अघि बढ्ने हो भने सम्पन्न हुन अझै धेरै वर्ष लाग्ने देखिएको छ।
रानी–जमरा–कुलरिया सिँचाई आयोजना निर्माणका लागि पैसा नथप्ने र तर डेढ वर्ष समय थप गर्ने गरी सिँचाई मन्त्रालय हुँदै अर्थमन्त्रालयबाट विश्व बैंकमा पत्राचार गरिएको आयोजना कार्यालयले बताएको छ। राष्ट्रिय गौरवका आयोजनाकै प्रगति सन्तोषजनक नभएको अवस्थामा अन्य आयोजनाको निर्माण कसरी अघि बढिरहेको छ भनेर सहजै अनुमान गर्न सकिन्छ।