महाकाली नदिमा नेपाल—भारत जोड्ने थप दुई पुल सञ्चालनमा

१ बर्ष अघि

२0७९ फाल्गुन ४ बिहीबार

महाकाली नदिमा नेपाल—भारत जोड्ने थप दुई पुल सञ्चालनमा

दार्चुला ।  महाकाली नदिमा नेपाल भारत जोड्ने थप दुई पुल सञ्चालनमा आएका छन् । महाकालीमा तुइन विस्थापन कार्यक्रम अन्तर्गत निर्माणाधीन झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि पुल सञ्चालनमा ल्याइएको हो ।  केपी शर्मा ओली प्रधानमन्त्री हुँदा लिइएको तुइनमुक्त कार्यक्रमअन्तर्गत महाकाली नदीमा झोलुङ्गे पुल निर्माणले तिव्रता पाएको हो । झोलुङ्गे पुलको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारत पिथौरागढका जिल्ला अधिकारी रीना जोशीले व्यानर काटेर उद्घाटन गरेका छन् । 


मालघाट र मालघट्टेमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको व्याँस गाउँपालिका अध्यक्ष मङ्गलसिह धामीले बताए । ‘पुल निर्माणले व्यासीको वर्षौदेखिको पीडामा केही मह्लम लागेको छ,’ उनले भने, ‘स्थानीयले पुलमार्फत यात्रा गरे अब अकालमै ज्यान गुमाउनुपर्ने छैन ।’ यहाँका स्थानीय बजार आउजाउ गर्नमात्र हैन खर काट्न समेत नेपाल भारत आउजाउ गर्ने गर्छन् ।झोलुङ्गे पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन थालेका छन् । दुई देशको सम्बन्ध भएका कारण दुवैतर्फ चोरी तस्करी अवैध घुसपिठ रोक्न सुरक्षाकर्मीले सहयोग पुग्नेछ ।


महाकालीमा झोलुङे पुल निर्माण भएर सञ्चालनमा आएसंगै तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । नेपालतिर सडक कालोपत्रे भइनसकेको अवस्था व्याँसका नागरिकको लागि सहज बाटोको रुपमा भारतीय सडक पदर्छ । भारतले डबल लेनको सडक निर्माण गरेका कारण नागरिक भारतीय बाटोकोको प्रयोग गर्दै खाद्यान्न, दैनिक उपभोग्य सामान ढुवानी गर्छन् । अहिले उद्घाटन भएका पुल निर्माणसँगै दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने १० वटा झोलुङ्गे पुल सञ्चालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियानअन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा ४ वटा पुल सञ्चालनमा ल्याएको जनाएको छ ।


०७३ पछि लेकम ३ लाली, मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्याँस गाउँपालिका–६ वडूगाउँ, र तिगरममा झोलुङ्गे पुल निर्माण भएको हो । यसअघि दार्चुला सदरमुकाम खलंगास्थित पुलघाट, व्याँसको सीतापुल, महाकाली नगरपालिकाको दत्तु र मालिकार्जुन गाउँपालिकाको जोलजीविमा झोलुङगे पुल सञ्चालनमा छ ।  दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल निर्माणा भइरहेको छ ।