नेपाल–भारत जोड्ने दुई झोलुंगे पुल भोली उद्घाटन हुदैँ

१ बर्ष अघि

२0७९ फाल्गुन ३ बुधबार

नेपाल–भारत जोड्ने  दुई झोलुंगे पुल भोली उद्घाटन हुदैँ

दार्चुला । नेपाल भारत – जोडने दुई झोलुङे पुल भोली उद्घाटन हुने भएका छन् । दार्चुला जिल्लाको व्याँस गाउँपालिका–४ बर्तीघाट मालघट्टे का दुई झोलुंगे पुल सञ्चालनमा आउँदैछन्। नेपाल–भारत जोड्न महाकाली नदीमाथि निर्माण सम्पन्न भएका ती दुई पुलको भोलि एक कार्यक्रमकाबीच उद्घाटन गरेर सञ्चालनमा  ल्याइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। 

‘मालघाट र मालघट्टेको झोलुङे पुल भोलिदेखि सञ्चालनमा आउँछ, भारतीय प्रशासनका तर्फबाट डीएम उद्घाटन कार्यक्रम सहभागी हुनेछन्,’ उनले भने। सीडीओ उपाध्यायका अनुसार नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनबाट निर्माण गरिएका पुल दुवै देशका सम्बन्धित जिल्लाका अधिकारीको समन्वयमा औपचारिक सञ्चालन गर्न लागिएको हो।

मालघाट र मालघट्टेमा झोलुङे पुल निर्माण भएपछि तुइनमा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ। पुलको भारततर्फ एसएसबी र नेपालतर्फ जनपद प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने छ। भारततर्फको पुलको सुरक्षाका लागि भारतीय प्रशासनलाई पत्राचार गरिएको सीडीओ उपाध्यायले बताए।

मालघाट गस्कुको झोलुङे पुलको सुरक्षा दुम्लिङमा रहेको सशस्त्र प्रहरी र मालघट्टेको पुलको सुरक्षा सुन्सेराको जनपद प्रहरीले गर्ने छ। महाकालीमा झोलुङे पुल निर्माण भएर सञ्चालनमा आएसंगै तुइन र ट्युवको जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यता हट्दै गएको छ। 

महाकाली किनारका दार्चुलाबासी किनमेल तथा मेलापातका लागि पारी भारततर्फ जाने गर्दछन्। पुल नहुँदा ट्युव र तुइनको सहायताले ज्यानको बाजी थापेर पारी जानु पर्ने दार्चुलाबासीको बाध्यता छ। त्यस क्रममा कतिपय तुइन र ट्युबबाट खसेर महाकालीमा बेपत्ता भएका छन्।

‘महाकालीमा पुल बनेपछि तुइन र ट्युवबाट वारिपारी गर्नुपर्ने बाध्यता हटेको छ,’ व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले भने, ‘अब वैधानिक रुपमा पुलबाट यहाँका मानिस नेपाल–भारत ओहोरदोहोर गर्न सक्छन्।’ 

दार्चुलामा महाकाली नदीमाथि नेपाल–भारत जोड्न १० वटा झोलुङे पुल छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सरकारको तुइन विस्थापित अभियान अन्तर्गत पछिल्लो दुई वर्षमा महाकालीमा ४ वटा पुल सञ्चालनमा आएका छन्। 

मालिकार्जुन गाउँपालिका–६ बाँकु र व्याँस गाउँपालिका–६ वडूगाउँमा गत वर्ष पुल सञ्चालनमा आएको थियो। व्याँस गाउँपालिका–२ मालघाट गस्कु र वडा नं। ४ वर्तीघाट मालघट्टेमा पुल निर्माण सम्पन्न भइसकेको छ।

यस्तै, दार्चुलाको खलंगास्थित पुलघाट, व्याँसको सीतापुल, तिग्रम, महाकालीको दत्तु र लेकमको लालीमा झोलुङे पुल सञ्चालनमा रहेको छ। 
दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारत पिथौरागढको मल्ला छारछुमबीच यातायात सुविधा सहज बनाउने उद्देश्यसहित महाकाली नदीमा पक्की पुल पनि बन्दैछ।